विराटनगर,१२ भदौ । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा भव्यरुपमा मनाउने भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताउनुभयो ।
उहाँले संविधान दिवसलाई जनतासँग जोड्न सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ’ ।
यस पटकको संविधान दिवस असोज ३ गते विहान प्रभातफेरीमा प्रतियोगितात्मक विभिन्न जातजातिका झाँकी प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिताको आयोजना गर्ने मूल आयोजक समितिले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।
असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम संचालन गर्नुका साथै रक्तदान, वृक्षारोपण, घरआङ्गन सरफाई, अस्पतालमा विरामीहरुलाई फलफुल वितरण, साँझ घर ÷घर र कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।
वैठकमा प्रदेशका मन्त्री, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी तथा पत्रकारको सहभागिता थियो ।