विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ ।
काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका हुन् । एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिर स्वर्ण पदक जित्न सफल भए । त्यस्तै, ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण हात पारे ।
चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका हुन् । उनले ताजिकिस्तानका खेलाडीलाई हराएर रजत ल्याएका छन् । यही भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए । जसमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरे ।
प्रतिस्पर्धा गरेकामध्ये बाग्लुङकी सुस्मिता थापा, बाग्लुङकै सुन्दर ऐडी, काभ्रेपलाञ्चोकका रिक्सन वाईबा र सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी लीलाकुमारी चौधरी पदकविहीन बनेर फर्किए । प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की र महासंघका महासचिव घमबहादुर थापामगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीका अनुसार प्रतियोगितामा एसियाका २४ वटा मुलुकको सहभागिता रहेको थियो । जसमा ५ सय ४१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक २ वटा स्वर्ण प्राप्त भएको जानकारी कार्कीले दिए । उनका अनुसार यसअघि सातौं एसियाली प्रतियोगितामा १ वटा स्वर्ण मात्रै प्राप्त भएको थियो ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २ वटा स्वर्ण र १ रजत प्राप्त हुनु नेपालका लागि ठूलो उपलब्धि र सफलता हो । गौरवको विषय हो,’ कार्कीले भने, ‘पदक विजेता खेलाडीलाई सरकारले सम्मान गर्नुपर्छ । हौसला दिनुपर्छ ।’ सरकारले खेलकुदको प्रवर्धनमा सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।–––