विराटनगर ,३१ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनु भएको छ ।
नेकपा (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त्त हुन भएका कार्कीले दोश्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
कोशी प्रदेश सभामा ९३ सदस्य छन् । जसमा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक कांग्रेसका २९ सांसद रहेका छन् ।
कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो । असोज २ गते दिउँसो १ बजे संसद बैठक बस्नेछ ।–––