विराटनगर ,२२ जेठ । अग्रणी शैक्षिक संस्था कान्तिपुर कलेज विराटनगर–१० ले यस वर्ष कक्षा ११ मा भर्ना भएका ९०९ जना विद्यार्थीहरूलाइ विराटनगरमा आज एक भव्य कार्यक्रमवीच स्वागत तथा अभिमुखीकरण गरेको छ ।
गुणस्तरीय शिक्षाको केन्द्र रहेको कान्तिपुरमा यस वर्ष विज्ञान संकायमा ३२६ जना, व्यवस्थापनमा ४२४ र होटल म्यानेजमेन्टमा १५९ जना विद्याथी भर्ना भएका छन् ।
कान्तिपुर फाउण्डेशनका अध्यक्ष खुसीराज श्रेष्ठको अध्यक्षतामा विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा एसइइमा ४ जिपिए ल्याएर कान्तिपुर मावि रोज्ने विद्यार्थी आमोद काफ्लेलाई सम्मान गरिएको थियो ।

त्यस्तै, कलेजको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विज्ञान संकायतर्फका ऐश्वर्य कुशवाहा, अजय कुमार यादव, श्रीयम श्रेष्ठ, सुर्यनारायण यादव लगायत १९ जना र व्यवस्थापन संकायतर्फका सुन्दर कुमार मण्डल, निकिता कुमारी साह लगायतका विद्यार्थीहरूलाई पनि उनीहरूको मेहेनतको कदर गर्दै सम्मानित गरियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख प्रकाश खरेलले कान्तिपुरको गुणस्तरीयताको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शुभकामना दिए । उनले भने, ‘शिक्षाको गुणस्तर केवल जिपिए ४ ल्याएर मात्र मापन हुँदैन, विद्यार्थीहरू बहुआयामिक क्षेत्रमा सफल हुनु र नैतिकवान् बन्नु नै वास्तविक उपलब्धि हो ।’
कलेजका प्रिन्सिपल भुवन नेपालले कान्तिपुर केवल शैक्षिक नतिजामा मात्र सीमित नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति निर्माणमा केन्द्रित रहेको बताए । उनले कलेजको सफलता सुनाउँदै भने, ‘छोटो समयमै हाम्रा २० भन्दा बढी उत्पादनहरू डाक्टर बनिसकेका छन् भने धेरै विद्यार्थीहरू निजामती सेवाको उच्च ओहोदामा पुग्न सफल भएका छन् ।’

प्रिन्सिपल नेपालले विद्यार्थीहरूलाई जीवनको यो सुनौलो समयलाई अधिकतम उपयोग गर्न आग्रह गर्दै कान्तिपुर अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको जानकारी दिए ।
अभिमुखीकरणका क्रममा विद्यार्थीहरूलाई कलेजको अनुशासन, शैक्षिक कार्यक्रम र नीति नियमबारे जानकारी गराइएको थियो । औपचारिक सत्रपछि विद्यार्थीहरूले गीत, संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा देखाउँदै कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए ।
विराटनगरमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित कान्तिपुर माविमा यस वर्षको विद्यार्थी आकर्षणले कलेजको गरिमालाई थप उचाईमा पु¥याएको छ ।–––