विराटनगर ,२७ जेठ। एभरेष्ट स्कुल विराटनगर–५ ले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले कलेजमा आयोजित कार्यक्रममा एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति वातावरण बनाइदिएको भन्दै उनले कुनै कुराको अभाव भए तत्काल भन्न समेत आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ तपाईंहरुको शैक्षिक विकासका निम्ति केहि थप गर्नुपर्ने भए मलाई भन्नुहोस्, हामी त्यो गर्छौ ।’
प्राचार्य पुरीले विद्यार्थीहरुले नियम एवं अनुशासित भएर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराउँदै स्वागत गर्नु भयो ।
उहाँले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्दै यी दुई वर्षमा गर्ने मेहनतले भविष्यको आकार कस्तो बन्ने भन्ने तय हुने बताउनु भयो ।
डा गिरीले लक्ष्यसहितको सङ्कल्प लिएर अघि बढ्दा हरेक व्यक्ति सफल हुने छन् भन्दै त्यसका लागि आइपर्ने विभिन्न वाधा अड्चनहरूलाई सामना गर्दै अघि बढ्न प्रेरित गर्नुभयो ।
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा–११ र १२ ले विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने तय गर्ने भएकाले सोहि अनुसार विद्यार्थीले मेहनत गर्नुपर्ने बताए ।
कार्यक्रममा एभरेष्ट कलेजका को अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, कलेजमा गर्न नपाइने विषय र कलेजमा उपलब्ध सुविधालगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।
कलेजले विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुने एभरेष्टमा यहि शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन शुरु गर्दैछ ।–––