जिल्लास्तरीय अंग्रेजी हिज्जेमा एभरेष्टको लगातार दोस्रो जित

Logo
Nav Nepal आइतबार, भाद्र ०७, २०८३

 

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ । आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयका विद्यार्थीलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै एभरेष्टले नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । गत वर्ष पनि यही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपाधि यात्रा निरन्तरता दिएको हो ।

प्रतियोगितामा विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) दोस्रो भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तेस्रो हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ । सुन्दरहरैंचाकै बालसदन एकेडेमी र रंगेलीको मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्याब्सनमा आवद्द जिल्लाका २३५ विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा पहिलो चरणको पालिका स्तरीय छनौटबाट १७ स्थानीय तहबाट ४७ विद्यालय दोस्रो चरणामा प्रवेश गरेका थिए । ति बाट छनौट भएका १२ विद्यालयले फाइनलमा भाग लिएका हुन । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सहभागी विद्यार्थीलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । प्रारम्भिक चरणबाट उत्कृष्ट १२ विद्यार्थी फाइनलका लागि छनौट भएका थिए ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । शिक्षा क्षेत्रको नीतिगत तथा व्यावहारिक विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विजेता विद्यार्थीलाई प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी, केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, कोशी प्रदेश कोषाध्यक्ष प्रेमाल सिंह सुवाल, शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगिताको निर्णायकमा ‘स्पेलिङ मास्टर’का रूपमा बासु दाहाल, अनुजा अग्रवाल र दर्पणा शर्मा रहनुभएको थियो भने कार्यक्रमको संयोजन रमेश मिश्रले गर्नुभएको थियो ।

जिल्लाका विभिन्न विद्यालयबीच शैक्षिक प्रतिस्पर्धा र विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको प्याब्सन मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077