कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिस र त्रिभूवन आर्मी विजयी

Logo
Nav Nepal बुधबार, फाल्गुण ३०, २०८०
विराटनगर, ३० फागुन ः मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभूवन आर्मी  विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई आठ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले बिहीबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ ।
समुह वि को अङ्क तालिकामा पुलिसले खेलेको तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै चार अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी चार खेलमा तीनमा जित र एक मा पराजित हुँदै छ अङ्कका साथ शिर्ष स्थानमा छ भने सुदूरपश्चिमले चार खेलमा तीनमा जित र एकमा पराजित हुँदै छ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई १५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीकालागि मृनल गुरुङले ३८ बलमा छ चौका प्रहार गरी ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा उक छक्का पाँच चौका प्रहार गदै २९ रन र आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले दुई विकेट लिँदा अविषेक कार्कीले पनि दुई विकेट लिए ।
जवाफमा १५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव पाँच बलमा दुई विकेट गुमाई लक्ष्य पार गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा चार छक्का र सात चौका प्रहार गरी ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए । लुम्बिनीका देव खनालले एक विकेट लिए ।
दोस्रो खेलमा विभागीय टोली त्रिभूवन आर्मीले अर्को विभागीय टोली एपिएफलाई  चार विकेटले पराजित गरेको छ । हार पछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ ।  आर्मीले खेलेका चार वटै खेल जितेर आठ अङ्कका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ तीन खेलमा दुईमा पराजित र एक खेलमा जित हात पार्दै दुई अङ्कका साथ पुछारमा छ ।
टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव दुई बलमा सबै विकेट गुमाई १३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले तीन विकेट लिँदा तृतराज दासले दुई विकेट लिए ।
जवाफमा १४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव तीन बलमा छ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद ३९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६ रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भूवन कार्कीले दुई विकेट लिँदा यज्ञमान कुमालले पनि दुई विकेट लिए ।
बिहीबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र वागमती बीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077