विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका विद्यार्थी नेताहरुको आज एक समारोहका बिच सपथग्रहण र पदभार ग्रहण सम्पन्न भएको छ । एभरेष्ट स्कुलको सभाहलमा आयोजित कार्यक्रममा भर्खरै सम्पन्न निर्वाचनबाट विभिन्न पदमा विजयी भएका नेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथ ग्रहण गराउनुभएको हो । शैक्षिक वर्ष २०८३ का लागि चयन भएको नेतृत्वले एक वर्षसम्म विद्यार्थी र विद्यालय प्रशासनको बिचमा रहेर पुलको काम गर्दछ । विद्यार्थीहरुका समस्या प्रशासन तथा शिक्षकहरु सम्म पुर्याएर समाधान खोज्ने देखि विभिन्न रचनात्मक काममा नेतृत्वले भूमिका खेल्ने गर्दछ । नेपालको राजनितिक व्यवस्था अनुसार लोकतान्त्रिक पद्धतिका सबै विधि पुर्याएर भएको निर्वाचनबाट हाउस मनिटर, भाइस मनिटर, तहगत क्याप्टेन तथा भाईस क्याप्टेन, अतिरिक्त कृयाकलापका विभिन्न क्लवहरुका क्याप्टेन, भाइस क्याप्टेन तथा प्रिफेक्ट र भाईस प्रिफेक्टलगायतका पदहरुमा निर्वाचन भएको थियो । नृत्य, संगीत, फाईन आर्ट, टेबल टेनिस, स्काउट, कराँते, बास्केटबल, स्वीमिङ, फुटबल र तेक्वन्दो क्लवका लागि क्याप्टेन र भाइस क्याप्टेन निर्वाचित गरिएको छ । यस्तै शैक्षिक कृयाकलाप अन्तर्गतका वक्तृत्वकला, हिज्जे, हाजिरीजवाफ, वादविवाद, कथा लेखन तथा वाचन, समाचार क्लव लगायतका लागि पनि क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको छ । विद्यालयका भाईस प्रिन्सिपल कुन्दन पुरीका अनुसार तल्लो तहका लागि कक्षा ८ कन्चनजंघाका आरुबी भट्टराई प्रिफेक्ट र कक्षा ७ गौरीशंकरका शिवांशु कर्ण डेपुटी प्रिफेक्ट निर्वाचित हुनुभएको छ । यस्तै मावि तहमा कक्षा १० अन्नपूर्णकी मान्यता बस्नेत प्रिेफेक्ट र कक्षा ९ कन्चनजंघाका आरिन जङ थापा डेपुटी प्रिफेक्ट हुनुभएको छ ।

सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पुरीले विभिन्न तहमा निर्वाचित सबैजना अब विद्यार्थी मात्र नभई नेता पनि भएको बताउनुभयो । उहाँले निर्वाचितहरुलाई बधाइई दिँदै यो विजय सँगै जवाफदेहिता र उत्तरदायित्व समेत थपिएको बताउनुभयो । शैक्षिक ज्ञानले मात्र जीवन पूर्ण नहुने भन्दै उहाँले हरेक क्षेत्र सफल बन्न कुसल नेताका कारण सम्भव भएको बताउनुभयो । नेता भन्नाले राजनिती मात्र बुझ्नु हुन्न प्रिन्सिपल पुरीले भन्नुभयो,‘विद्यालय, घर, समाज, शहर, वा जुनसुकै संस्था कुशल नेतृत्वबाट मात्र सम्भव हुन्छ । नेता बिना कुनै पनि संस्था सफलतापूर्वक अघि बढ्न सक्दैन ।’ उहाँले राम्रो काम गरेर अरुलाई उत्प्रेरित र आकर्षित गर्न सक्ने ब्यक्ति नेता हुने भन्दै सफल नेता बन्न यो एउटा आधार बन्ने समेत धारणा राख्नुभयो ।