विराटनगर, १९ जेठ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१÷८२ वार्षिक प्रतिवेदन ग्रहण गर्नुभएको छ ।
महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक शिवकुमार राईले आज यहाँ एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङ्गलाई हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश प्रमुख खापुङ्गले आर्थिक अनुशासन कायम गराउन यो प्रतिवेदन कोशे ढुङ्गा सावित हुने बताउनुभएको छ ।
उहाँले सरकारी कार्यालयहरुमा आर्थिक अनियमिततालाई रोक्न, बेरुजु बढन नदिन र भ्रष्टाचारलाई नियन्त्रण महालेखा परीक्षकको कार्यालयले इमान्दारीपूर्वक कार्य गरिरहेको भन्दै नजायज खर्च रोक्न महालेखाले संधै क्रियाशील भएर लाग्नु पर्ने सुझाव दिनुभयो ।

उहाँले लेखा नितान्त प्राविधिक विषय भएकाले कतिपय स्थानमा नजानेर पनि त्रुटी हुने गरेकाले यस्ता त्रुटीलाई समयमै सच्याउन सचेत गराउनु पर्ने धारणा राख्नुभयो ।
सो अवसरमा नायव महालेखा परीक्षक राईले संघीय शासन प्रणाली सुरु भएदेखि ८ वर्षको लेखा परीक्षण भइसेको जानकारी दिनुभयो ।
उहाँले ७५३ वटा स्थानीय तहमा ७२१ पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेन्जी आन्दोलनको क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरुको मात्र लेखा परीक्षण हुन नसकेको बताउनुभयो । उहाँले यो प्रतिवेदन छ वटा प्रदेश प्रमुखको कार्यालय बुझाईसकेको हो भत्रुभयो ।–––