विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठले स्थानीय तहमा उपलब्ध स्रोत तथा सम्भावनाको अधिकतम उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय तहबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम हुनुपर्नेमा जोड दिएका छन् ।
यस विषयमा नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग छलफल तथा वार्ता भइरहेको उनले जानकारी दिए । अध्यक्ष श्रेष्ठले विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सचिवालय भ्रमणका क्रममा उक्त धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउँदै महिला उद्यमीहरूको विकास र प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू अघि बढाउन प्रदेश उद्योग वाणिज्य महासंघलाई आग्रह गरे । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे जानकारी गराए। पछिल्लो समय देशमा देखिएको प्राकृतिक विपद् र बजारको शिथिलताका कारण व्यवसायीहरू थप मारमा परेको उनले बताए ।
‘विशेषगरी चाडपर्वको समयमा समेत बजारमा अपेक्षाअनुसार व्यापार–व्यवसाय हुन सकेको छैन। यसको प्रत्यक्ष असर व्यवसायीको मनोबल खस्कनुका साथै बैंकको ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म परेको छ,’ अध्यक्ष राउतले भने । यस्तो चुनौतीपूर्ण अवस्थाका बाबजुद व्यवसायीहरूलाई सुरक्षित र निर्धक्क रूपमा व्यवसाय गर्ने वातावरण बनाउन प्रदेश महासंघले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनले स्पष्ट पारे । साथै, प्रदेश महासंघको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी एक वर्षभित्र नयाँ भवनबाट सचिवालय सञ्चालन गरिने उनले जानकारी दिए ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, केन्द्रीय सदस्य सुयश प्याकुरेल, कोशी प्रदेशका उपाध्यक्षद्वय राजन श्रेष्ठ र रविन दाहाल, कोषाध्यक्ष श्रवण अग्रवाल तथा कार्यसमिति सदस्यहरू सुभाष आचार्य, देवकीनन्दन अग्रवाल, भविष श्रेष्ठ र कीर्ति उपाध्यायलगायतले वर्तमान आर्थिक अवस्था, व्यवसाय सञ्चालनका चुनौती र निजी क्षेत्रले भोगिरहेका समस्याबारे आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए ।