हाजी आँखा अस्पतालका सञ्चालक गुप्ताले रु १ करोड ५८ लाख शेयर रकम नदिएको आरोप

Logo
Nav Nepal शनिबार, आश्विन १७, २०८३

विराटनगर १७ असोज । हाजी आँखा अस्पताल विराटनगरका सञ्चालक मन्नुकुमार गुप्ताले शेयर बिक्रीबापतको रु १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको शेयरधनीहरूले आरोप लगाएका छन् ।

शेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै उनीहरूले न्यायका लागि पहल गरिदिन माग गरेका छन् ।

अस्पतालका १६ जना सञ्चालकमध्ये गुप्ताबाहेक सबैले शेयर बिक्री गरेको र बिक्रीबापतको रकम भुक्तानी हुन बाँकी रहेको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार डा. गुणराज कट्टेलको ५ लाख ७८ हजार रुपैयाँ, जेउल कमरको १९ लाख ६२ हजार ६०७ रुपैयाँ, राजेश शाहको ३० लाख ६३ हजार ४०० रुपैयाँ र मो. अतहर अन्सारीको ५० लाख ८० हजार १५६ रुपैयाँ पाउन बाँकी छ ।

पीडितहरूले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै ०८२ मंसिर ५ गतेको चेक गत वर्षको जेठमा आफूहरूलाई दिइएको बताएका छन् । तर, चेक साट्न खोज्दा खातामा पर्याप्त रकम नभएको र पटक–पटक रकम माग गर्दा पनि भुक्तानी नपाएको उनीहरूको भनाइ छ ।

पीडितमध्येका मो. अतहर अन्सारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरले फैसला गरे पनि अहिलेसम्म रकम भुक्तानी नभएको उनीहरूले बताएका छन् ।

अदालतको आदेशपछि गुप्ताले कालोसूचीमा पर्नबाट जोगिन १ करोड ५८ लाख रुपैयाँ कुमारी बैंक विराटनगरमा जम्मा गरेको र त्यसपछि कालोसूचीबाट हटाउन बैंकका कर्मचारीले आफूहरूलाई निवेदन फिर्ता लिन लगाएको पीडितहरूको आरोप छ । तर, निवेदन फिर्ता लिएपछि पनि रकम नपाएको उनीहरूले बताएका छन् ।

घटनामा गुप्तासँग मिलेमतो गरेको आरोप लागेका बैंकका कर्मचारीमाथिसमेत छानबिन गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । न्यायका लागि आफूहरूले सोमबार प्रहरीमा उजुरी दिने पीडितहरूले बताएका छन् ।
हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्ताले भने शेयरबापतको सबै रकम सम्बन्धित सबैलाई फिर्ता गरिसकेको दाबी गर्नुभएको छ । उहाँले कसैको पनि रकम बाँकी नरहेको बताउनुभयो ।

‘उनीहरूले मेरो बेइज्जत गर्न खोजेका हुन् । मसँग सबै प्रमाण छ । मुद्दा अदालतमा चलिरहेको छ,’ गुप्ताले भन्नुभयो ।—

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077