९० वर्षीय पूर्वप्रहरी सम्मान

Logo
Nav Nepal शनिबार, आश्विन १७, २०८३

विराटनगर । प्रहरी सेवामा जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरका ९० वर्षीय पूर्वप्रहरी नायव निरीक्षक (पूर्वसई) दानबहादुर राउतलाई सम्मान गर्न कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाल घरमै पुगेका छन् ।

उदयपुरको बेलका नगरपालिका–१ आमचोकस्थित निवासमै पुगेर डीआईजी खनालले राउतलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रहरी सेवामा रहँदा पुर्याएको योगदानको उच्च कदर गर्दै संगठनको नेतृत्व स्वयं घरमै पुगेपछि राउत भावुक बनेका थिए ।

प्रहरी सेवाबाट अवकाश लिएर जीवनको उत्तरार्धमा रहेका राउतले संगठनले आफ्नो योगदान सम्झिएर सम्मान गरेको क्षणलाई जीवनकै विशेष उपलब्धिका रूपमा लिएका छन् । लामो समय प्रहरी संगठनमा रहेर नागरिकको सुरक्षा र शान्ति कायम गर्न पुर्‍याएको योगदानलाई संगठनले स्मरण गरेकोमा आफूलाई अत्यन्तै खुसी र गर्व महसुस भएको उनले बताए ।

प्रहरी सेवामा बिताएका दिनहरू स्मरण गर्दै राउतले आफू अवकाशमा रहे पनि संगठनप्रतिको भावनात्मक सम्बन्ध अझै उस्तै रहेको बताए । आफूले जीवनको महत्वपूर्ण समय समर्पण गरेको संगठनका प्रमुख नै घरमा आएर सम्मान गर्दा त्यो क्षण अविस्मरणीय बनेको उनको प्रतिक्रिया थियो ।

सम्मानका क्रममा डीआईजी खनालले प्रहरी संगठनमा हाल कार्यरत कर्मचारीको मात्र नभई संगठन निर्माणमा जीवन समर्पण गरेका पूर्वप्रहरी कर्मचारीको योगदानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने बताए । विगतका प्रहरी कर्मचारीले स्थापित गरेको सेवा भावना, अनुशासन र समर्पणकै जगमा आजको प्रहरी संगठन अघि बढिरहेको उल्लेख गर्दै उनले पूर्वप्रहरीको योगदानलाई सम्मान गर्नु संगठनको दायित्व भएको धारणा राखे ।

९० वर्षको उमेरमा आफ्नै घरको आँगनमा प्रहरी संगठनको उच्च नेतृत्वबाट सम्मान पाउँदा राउतको अनुहारमा खुसी र आँखामा भावुकता झल्किएको थियो । लामो समय प्रहरी सेवामा बिताएका एक पूर्वप्रहरी अधिकृतका लागि यो सम्मान व्यक्तिगत खुसीमा मात्र सीमित नरहेर संगठनप्रतिको आत्मीयता र जीवनभरको सेवाको स्मरणसमेत बन्यो ।

राउतले आफूलाई गरिएको सम्मान प्रहरी सेवामा जीवन समर्पण गर्ने सम्पूर्ण पूर्वप्रहरी कर्मचारीप्रतिको सम्मानको प्रतीक भएको बताए । संगठनले आफ्ना पूर्वसदस्यको योगदान र समर्पणलाई सम्झिएको यस प्रसंगले प्रहरी सेवाप्रतिको गर्व र आत्मीयतालाई झल्काएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077