विराटनगर, २० असोज । विराट व्यापार संघको आयोजनामा यही असोज २२ गतेदेखि शुरु हुने विराट ट्रेड फेयरमा रु एक अर्वको कारोवार हुने जनाइएको छ। ।
असोज २२ देखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने फेयरमा एक सय वटा स्टल रहनेछन् ।
संघद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।
दशैंको समयमा सीमावर्ती भारतीय बजारमा नेपाली जनताको खरीदको लागि जाने कार्यलाई निरुत्साहित गरि विराटनगरको बजारमा चहलपहल बढाउँदै स्थानीय व्यापारलाई चलायमान बनाउने उद्देश्यले ‘विराट ट्रेड फेयर’ आयोजना गर्न लागिएको भएको हो ।
फेयरका सबै स्टल बुकिङ भइसकेको अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिनुभयो ।
उद्योगबाट सिधै उपभोक्तासम्म सामान पुर्याउने र भारी छुटमा सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको फेयरमा अटोमोबाइल, कपडा, जुत्ता, फर्निचर, टायल, प्लम्बिङ लगायतका सामग्रीका साथै स्थानीय उत्पादनलाई समेत प्राथमिकता दिइएको छ ।
स्थानीय घरेलु उद्योगका सामाग्रीहरु ढाकाका कपडा , मह, अचार, भोजपुरे खुकुरी लगायतका स्थानीय उत्पादन फेयरमा राखिनेछन् ।
खाद्य संस्थानबाट छुट मूल्यमा चिनी, चामल तथा अर्गानिक खाद्य सामग्रीसमेत उपलब्ध हुने आयोजकले जनाएको छ।
नेपाली उत्पादनका साथै भारत, पाकिस्तान र बंगलादेशका उत्पादनसमेत फेयरमा रहनेछन् ।
‘विराटनगरको बजार सुनसान, जोगबनी बजार गुलजार’ भन्ने अवस्था परिवर्तन गर्दै स्थानीय व्यापारलाई चलायमान बनाउन ट्रेड फेयर आयोजना गरेका हौँ,’ अग्रवालले भन्नुभयोे, ‘फेयरबाट स्थानीय व्यापारको प्रवद्र्धन हुने अपेक्षा गरेका छौँ ।’
फेयरमा व्यापार तथा किनमेललाई मुख्य प्राथमिकता दिइएको छ ।
मेलमा नेपाली तथा सीमावर्ती भारतबाट करीव एक लाख २५ हजार जनताले अवलोकन गर्ने विश्वास गरिएको छ।
यसैगरी मनोरञ्जनका लागि हरेक दिन साँझ ४ बजेदेखि ७ बजेसम्म नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।
फेयरमा दैनिक फरक–फरक स्टलमार्फत उपहार वितरण गरिनेछ ।
यस्तै बम्पर उपहारका रूपमा एकजनालाई ईभी स्कुटी तथा अन्य सान्त्वना पुरस्कार दिने तयारी गरिएको छ ।
बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न पहिलोपटक रोबोट प्रदर्शन र पूर्व क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिनेछ ।
फेयरका ७८ वटा स्टल डोमभित्र रहनेछन् भने अटोमोबाइल र खाद्यान्नका स्टल जैन भवनको पुरानो भवनमा राखिनेछन् ।
विराट व्यापार संघले १५ वर्षपछि दोस्रोपटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो।
फेयर आयोजनामा विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, उदय परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा उद्योग संगठन मोरङलगायतका निकायको सहयोग तथा सहकार्य रहेको छ ।–––