सुरक्षित आप्रवासनलाई व्यवस्थित बनाउनु पर्छ– मन्त्री शेर्पा

Logo
Nav Nepal मंगलबार, आश्विन २०, २०८३

विराटनगर २० असोज । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सुरक्षित आप्रवासनलाई व्यवस्थित बनाउन राज्यका तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ।
विराटनगरमा आज कारितास जापानको सहकार्यमा कारितास नेपाल र झापाको कनकाई नगरपालिकाको संयुक्त आयोजित ‘सुरक्षित आप्रवासन प्रवद्र्धनका लागि कोशी प्रदेशस्तरीय नीतिगत संवाद तथा पैरवी कार्यक्रममा उहाँले श्रम आप्रवासनमा जाने नेपालीको सङख्या बढ्दै गएकोले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले आर्जन गरेको सीप र अनुभवको सदुपयोग गर्नुपर्ने सुझाव दिनु भयो ।
मन्त्री शेर्पाले वैदेशिक रोजगारीमा जाने युवालाई आवश्यक सीप तथा ज्ञान राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री शेर्पाले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माणका लागि प्रदेश सरकारले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बताउनुभयो।
पोखरेलले कनकाई नगरपालिकाले कारितास नेपालसँगको सहकार्यमा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

कोशी प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङ राई, सुनसरीको गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य लखनलाल साहलगायतले सुरक्षित आप्रवासनका विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रममा कारितास नेपालका शंकर पौडेलले कनकाई नगरपालिकामा सञ्चालित परियोजनाबाट प्राप्त सिकाइ, अनुभव तथा स्थानीय तहमा देखिएका समस्याबारे कार्यपत्र प्रस्तुत गर्नु भयो ।

विषयविज्ञ फडिन्द्र दाहालले सुरक्षित आप्रवासनको वर्तमान अवस्था, प्रमुख समस्या, सेवा प्रवाहमा देखिएका कमी तथा कानुनी एवं नीतिगत विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्थानीय तहदेखि प्रदेश तथा संघीय तहसम्म नीतिगत समन्वय, सीप विकास, पुनःएकीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र पुँजीलाई स्वदेशमै परिचालन गर्ने विषयमा छलफल गरिएको थियो।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077