

विराटनगर, १७ वैशाख ः मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भारतको आसाम क्रिकेट क्लव विजयी भएको छ।
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधवार भएको वि समूहको दोस्रो लिग खेलमा आसाम क्रिकेट क्लवले कोशी प्रदेशलाई ९७ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव तीन बलमा सवै विकेट गुमाई दुई सय नौ रन बनाएको थियो ।
आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा दुई छक्का र सात चौका प्रहार गर्दै ७८ रन ,अरुण सोनारले ५१ रन बनाएका थिए ।
कोशीका प्रेम कामतले १० ओभरमा तीन मेडन राख्दै चार विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइँटेलले दुई÷दुई विकेट लिएका थिए ।
जवाफमा दुई सय १० रनको लक्ष्य पाएको कोशीले ३७ दशमलव दुई बलमा सवै विकेट गुमाई एक सय १२ रन बनाएको थियो । आसामका टपनकुमार शर्मा र कप्तान गोकुल शर्माले तीन÷तीन विकेट लिएका थिए ।
विहिवारको खेल आसाम र नेपाल पुलिस क्लव बीच प्रतिस्पर्धा हुने फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनु भयो ।–––