विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरले शल्यक्रिया गरिएका बिरामीमध्ये ५४ प्रतिशतलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले स्थापनाकाल देखि हाल सम्म करिब १ करोड ७० लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराएको जनाएको छ । अस्पतालको आज सम्पन्न २३ औँ वार्षिक साधारणसभामा अस्पताल प्रवन्धक नवीनचन्द्र राजवंशीले अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई लक्षित गरी निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

राजवंशीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालले कुल १ लाख २१ हजार ९३५ जनालाई ओपीडी सेवा प्रदान गरेको छ । त्यसमध्ये ६५ हजार ५२६ जनाले अस्पतालबाटै सेवा लिएका छन् भने बाँकीले अस्पतालअन्तर्गत सञ्चालित सेवा केन्द्र तथा आँखा उपचार शिविरमार्फत सेवा प्राप्त गरेका छन् । अस्पतालको स्थापनादेखि हालसम्मको तथ्यांकअनुसार करिब ४४ वर्षको अवधिमा १९ लाख ९९ हजार ३७६ जनाले ओपीडी सेवा लिएका छन् । यस अवधिमा १ लाख ५१ हजार जनाको आँखाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया गरिएकामध्ये १ लाख ४३ हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अस्पतालले सेवा भावका साथ सञ्चालन गरिरहेको स्वास्थ्य सेवा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रबाट पनि यस्ता सेवामूलक संस्थालाई सहयोग र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा अस्पतालले प्रदान गर्दै आएको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै राउतले अस्पतालप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धा गर्दा सेवाको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । भारतबाट समेत वार्षिक करिब १२ लाख बिरामी उपचारका लागि नेपाल आउने गरेको उल्लेख गर्दै उहाँले यसलाई नेपाली स्वास्थ्य क्षेत्रका लागि सकारात्मक अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष श्याम पौडेलले ४४ वर्षको अवधिमा अस्पतालबाट करिब २० लाख नागरिकले आँखा उपचार सेवा प्राप्त गरेको बताउनुभयो । उहाँले अस्पतालले व्यावसायिक लाभभन्दा सेवाभावलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । साधारणसभामा अस्पतालको सेवा विस्तार, गुणस्तरीय उपचार तथा सर्वसाधारणको पहुँचमा आँखा स्वास्थ्य सेवा पुर्याउने विषयमा समेत चर्चा गरिएको थियो ।