

विराटनगर, १५ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले किसान पहिलो भन्ने अभियान साथ काम गरिरहेको बताउनुभएको छ।
धान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्वपूर्ण दिनको रुपमा रहेको उल्लेख गर्नु भएको छ।
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औल्याउनु भएको छ।
उहाँले भन्नु भयो,‘प्रदेश सरकारले यस वर्षको नीति कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा बताउनु भएको छ।’
पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसतर्फ ध्यान दिनुपर्ने जोड दिनुभएको छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेको आवर विराटगर(ओबी) मिडियाले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोप्नुभएको छ। सो अवसरमा उहाँले धान उत्पादन वृद्धिमा जोड दिनु भएको छ।–––