मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप –दुई लाख ८१ हजार २६३ लाई लगाइने

Logo
Nav Nepal बिहिबार, फाल्गुण १०, २०८०

विराटनगर, १० फागुन ः मोरङ जिल्लामा आगामी फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने भएको छ ।
स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान संञ्चालन वारे जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको वैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाईने जानकारी दिइयो ।
मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका नौ महिना देखि १५ वर्ष सम्मका दुई लाख ८१ हजार २६३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले बताउनु भयो ।
उहाँका अनुसार नौ महिना देखि ५९ महिना भित्रमा ८० हजार ४५५ र पाँच वर्ष देखि १५ वर्ष सम्मका दुई लाख ८०८ गरि दुई लाख ८१ हजार २६३ जनालाई खोप लगाईने भएको हो ।
मोरङमा एक हजार ५८८ खोप केन्द्र, तीन हजार १७० स्वास्थ्यकर्मी र चार हजार ७६४ जना स्वयंसेवक परिचालन हुने बताईएको छ ।
दादुरा रुवेला विरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि मोरङमा चैत २ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जहदा गाउँपालिकाबाट अभियानको शुभारम्भ गरिने कार्यालय प्रमुख डा. मेहताले बताउनुभयो ।
मोरङमा पहिलो चरणमा मिक्लाजुङ्ग, लेटाङ्ग, केरावारी, वेलवारी, सुन्दरहरैचा, बिराटनगर, जहदा, कटहरी, वुढीगंगा, ग्रामथान र फागुन २९ गते देखि दोस्रो चरणमा धनपालथान रंगेली सुनवर्षी रतुवामाई उर्लावारी कानेपोखरी र पथरीशनिश्चरेमा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान शुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि संभव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार सन् २०२२–२०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।
दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ ।
दादुरा–रुवेला विरुद्धको खोपको राष्ट्रिय अभियानमा सवै पक्षको सहयोग आवस्यक भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, निजी अस्पताल सञ्चालकहरुको संघ अफिनका कोशी प्रदेश अध्यक्ष डा. शंकर अधिकारी लगायतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077