

विराटनगर ९ असोज । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई ५०–५० हजारको दरले फेलोसिप वितरण गरेको हो ।
फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहनु भएको छ । विकल्पले फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको आधारमा ४ जना पत्रकार छनोट गरिएको थियो ।
फेलोसिप वितरण कार्यक्रममा विकल्पका अध्यक्ष प्रा.डा. भेषप्रसाद धमलाले पत्रकारहरू समाजमा रहेको विकृति, विसङ्गतिका विरुद्धका अभियन्ता भएकोले पत्रकार आफ्नो पेशामा सदैव गम्भीर हुनुपर्ने बताउनु भएको थियो । उहाँले पत्रकारको कलमप्रति समाज विश्वस्त हुने हुँदा समाजमा सकारात्मकता वा नकारात्मकता विस्तारमा पत्रकारको ठूलो भूमिका हुने धारणा व्यक्त गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले विकल्पले पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै श्रमजीवी पत्रकारलाई थप जिम्मेवार र सशक्त बनाउने उद्देश्यले फेलोसिप हस्तान्तरण गरेको भन्दै संस्थाको प्रशंसा गर्नु भएको थियो । खड्काले आगामी दिनमा समेत महासंघले विकल्पसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रमा थप काम गर्नेमा आशावादी रहेको बताउनु भएको थियो । उहाँले पत्रकारलाई क्षमता बढाउन आग्रह गर्नुभयो । पत्रकारिता गरेर पनि जीवन निर्वाह गर्न सकिने उहाँले बताउनुभयो ।
विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले विकल्पले विगत १० वर्ष देखि जीविकोपार्जन, स्वतन्त्रता, गरेर खान पाउनु पर्ने अधिकारको लागि काम गर्दै आएको जानकारी दिनु भएको थियो । अधिकारीले विकल्पले फेलोसिपको माध्यमबाट थप जिम्मेवार र सशक्त पत्रकारिता गर्न बल पुग्ने आशाको संस्थाले लिएको धारणा व्यक्त गर्नु भएको थियो ।
फेलोसिप हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष विक्रम लुइँटेल, पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा फेलोसिप प्राप्त गर्ने पत्रकारहरूले आफूले गरेको काम बारे प्रस्तुति दिनु भएको थियो ।
विकल्पले गत चैतमा खोज पत्रकारिताका लागि नयाँ–नयाँ प्रविधिको प्रयोगबारे मोरङ र सुनसरीका करिव ६० जना पत्रकारलाई २ चरणमा क्षमता विकास तालिम दिएको थियो । सो तालिममा सहभागि भएकाहरुका मध्येबाट आवेदनका आधारमा ४ जनालाई फेलोसिप दिइएको विकल्पकी कार्यक्रम संयोजक रानु साहले जानकारी दिनुभयो ।