विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग पर्नुभएको छ ।
विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा शनिवार आयोजित कारखाना प्रदर्शनीको कार्यक्रममा पुग्ने अभिभावकहरु दङ्ग देखिनुभएको हो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले आ–आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुहरूलाई व्यवहारत विभिन्न उपकरण मार्फत प्रस्तुती देखाएका हुन् ।
आफ्ना आविस्कारहरुले कसरी काम गर्छ ? तिनको उपयोगिता कस्तो हुन्छ ? आविस्कारहरुले मानव जीवनलाई कसरी सहज बनाउँछ जस्ता विषयमा विद्यार्थीहरुले अभिभावकलाई बुझाएका थिए ।
अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता कृयाकलापले बालबालिकाको सिकाई क्षमतालाई निकै प्रभावकारी बनाउने बताउनुभयो । उहाँले आफ्नी छोरीहरुको परियोजना कार्य हेरेर आफैलाई पनि गर्व वोध भएको बताउनुभयो ।
यस्तै अर्का अभिभावक राजेश गिरीले बच्चाहरुको क्षमता हेर्दा वातावरण बनाइदिए धेरै कुरा गर्न सक्ने रहेछन् भन्ने अनुभूति भएको बताउनुभयो । उहाँले सबै विद्यालयहरुले यस्तो वातावरण तयार गर्न सक्दा हाम्रो शैक्षिक स्तर निकै माथि उठ्ने विश्वास ब्यक्त गर्नुभयो ।
करिब ८ सय विद्यार्थीहरुले विभिन्न समूहमा रहेर सयौं परियोजना कार्यहरुको प्रदर्शनी गरेका छन् । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार विद्यार्थीहरुले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर देखाउने यो महत्वपूर्ण ‘प्ल्यार्टफर्म’ रहेको बताउनुभयो ।
एभरेष्टले बालबालिकामा अन्वेषण र आविष्कारमा चासो बढोस् भन्ने उद्देश्यका साथ कारखाना सँग सहकार्य गर्दै आएको छ । सोहि अनुसार शनिवार कारखाना प्रदर्शनी गरिएको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा समूहमा काम गर्ने, आत्मविश्वासमा वृद्धि हुने तथा अन्वेषणमा रुचि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।