विराटनगर,१ माघ ः कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाहरुलाई आकर्षित गर्न ‘प्रथम विराटनगरस्तरीय टी –२० क्रिकेट लिग’ प्रतियोगिताको भोलि शुक्रवार (माघ दुई गते)देखि सञ्चालन हुने भएको छ।

नेपाल क्रिकेट फाउण्डेशन र कोशी प्रदेश क्रिकेट एशोसिएसनकाद्वारा संचालित प्रतियोगितामा विराटनगरका आठ टोलीले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विराटनगर महानगरपालिका–६ स्थित मेरीलेबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले वताउनु भयो ।
प्रतियोगितामा भाग लिने प्रत्येक टोलीमा यु १६ का एक जना, यु १९ का दुई जनाका साथै मोरङ जिल्ला बाहिर तर, कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तिमा दुई देखि तीन जना खेलाडी अनिवार्य राख्नु पर्ने प्रावधान रहेको अध्यक्ष श्रेष्ठ जानकारी दिनु भयो ।
उहाँले प्रदेशको क्रिकेट खेलको विकासका लागि यस प्रकारको प्रावधान राखिएको बताउनु भयो ।

कोशी प्रदेश क्रिकेट एशोसिएसनका अध्यक्ष सर्वजितराज पाण्डेले लिगमा कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि अन्य जिल्लाका खेलाडीको अनिवार्यता गरेका बताउनुभयो ।
प्रदेशमा क्रिकेटको गतिविधि शून्य भएका अवस्थामा दुवै संस्थाबीच सहकार्यमा प्रतियोगिताको सुरुवात गरिएको र आगामी दिनमा प्रदेशका अन्य जिल्लामा समेत गतिविधिलाई अगाडि वढाउने जानकारी अध्यक्ष पाण्डेले गराउनु भयो ।

माघ १० गतेसम्म हुने प्रतियोगितामा मिल्स क्रिकेट क्लब, विराट क्रिकेट एकेडेमी, एलाइट क्रिकेट क्लब र विराटनगर क्रिकेट क्लब एशोसिएसन , लायन क्रिकेट एकेडेमी, सिद्धार्थ क्रिकेट क्लब, कटहरी क्रिकेट क्लब र डाइनामिक क्रिकेट एशोसिएसनको सहभागिता रहेको छ ।
प्रतियोगितको विजेताले नगद रु २५ हजार र उपविजेताले नगद रु १० हजारका साथै ट्रफी प्राप्त गर्ने छन् ।–––