विराटनगर,४ माघ ः आगामी फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने उद्देश्यले आज विराटनगरमा सर्वदलिय वैठकको आयोजना गरिएको छ ।
मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आज आयोजना गरिएको वैठकमा जिल्लाका सवै राजनीतिक दलका प्रमुख , ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालय तथा जिल्ला स्थित सुरक्षा प्रमुख सहित सरोकारवालको सहभागिता थियो ।
वैठकमा माघ ६ गते मङगलबार हुन लागेको मनोनयन दर्ता प्रक्रिया, निर्वाचन आचार संहिता, निर्वाचन निर्देशिका तथा राजनीतिदलले मनोनयन दर्तागर्ने समयका विषयमा छलफल भएको थियो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत भिष्मराज प्रसाईले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल वनाउने दायित्व सवै राजनीतिक दलको भएको वताउनुभयो ।
उहाँले सामाजिक सञ्जालमा आउने निर्वाचन सम्वन्धि गलत प्रचार प्रसारले निर्वाचनलाई प्रभावित पार्नेतर्फ राजनीतिक दलहरु सजग र सचेत हुन आग्रह गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन स्वच्छ, भयरहित एवं शान्तीपुर्ण वातवारणमा सम्पन्न गर्नेगरि सुरक्षाको सवै प्रवन्ध मिलाइसकेको जानकारी दिनु भयो ।
वैठकमा राजनीतिदलका प्रतिनिधिहरुले निर्वाचनका लागि भइरहेको तयारी तथा शान्ती सुरक्षा तथा निर्वाचन सम्वन्धि आचार संहिता कडाई साथ पालना हुनुपर्नेमा जोड दिनु भएको थियो ।
निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले निर्वाचनको तयारीका विषयमा जानकारी गराउनु भएको थियो ।
प्रतिनिधिसभा निर्वाचनका लागि मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ ।
मोरङमा सात लाख ८३ हजार ५० मतदाता रहेका छन । त्यसमध्ये पुरुष तीन लाख ९९ हजार ६ सय ८६ र महिला तीन लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निर्वाचन कार्यालय मोरङका प्रमुख दगांलले जानकारी दिनुभयो ।–––