विराटनगर, ५ चैत ः यस क्षेत्रका सर्वसाधारण नागरिकहरुलाई सहज, किफायती , एवं भूकम्प प्रतिरोधक घर निर्माणका जानकारी प्रदान गर्नका लागि विराटनगरमा घर निर्माण प्रदर्शनी –२०८२ हुने भएको छ।
उद्योग संगठन मोरङले आज यहाँ आयोजना पत्रकार सम्मेलनमा यही चैत १२ देखि १६ गते सम्म निःशुल्क घर निर्माण सम्बन्धि प्रदर्शनी विराटनगरको मेनरोडस्थित जैन भवनमा अवलोकन गर्न सकिने जनाएको छ।
नेपाली निर्माण सामाग्री तथा सेवाहरुको प्रवद्र्धन,स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापन मार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।
उक्त प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी ,प्राविधिक जनशक्ति, सामाग्रीहरु एकै स्थानबाट जानकारी प्राप्त हुने संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भयो ।
यस क्षेत्रमा यस प्रकारको प्रदर्शनी पहिलो पटक आयोजना गरिएको हो भने प्रदर्शनी स्थलमा विभिन्न घर निर्माण सामाग्रीहरुका ७५ बटा स्टलहरु रहने छन् ।
प्रर्दशनीमा डिजाईन तथा प्लानिङ अन्तरगत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ तथा वास्तु परामर्श सेवा, निर्माण सामाग्री अन्तरगत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्र्तगत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत तथा उर्जा अन्तरगत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी सुरक्षा जस्ता उत्पादन र सेवाहरु रहने अध्यक्ष राठीले बताउनुभयो ।
प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले दुई घण्टा विशेष सत्रहरुमा वाटरपु्रफिङ तथा भवन उपचार,सोलार होम प्रणाली, स्मार्ट हाउस अवधारणा, वातावरण मैत्री निर्माण प्रवृत्ति, धमिरा नियन्त्रण समाधान, आधुनिक मोड्युलर किचन प्रविधि तथा भूकम्प प्रतिरोध, आगो सुरक्षा र किचन सुरक्षा जस्ता विषयमा विज्ञहरुद्वारा दैनिक अभ्यास, प्रस्तुति तथा छलफल गरिने छ ।
प्रदर्शनी प्रत्येक दिन विहान १० वजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ भने दैनिक दुई हजार सर्वसाधारण नागरिकहरुले अवलोकन गर्ने विश्वास संयोजक गोल्छाले गर्नु भयो ।–––