विराटनगर, १२ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताउनु भएको छ।
उद्योग संगठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि चैत १६ गते सम्म सञ्चालन हुने ‘घर निर्माण प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास जनाउनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी वर्ष देखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्चको वृद्धिका प्रत्यक चौमासिकमा खर्च निर्धारण गरी अगाडि वढ्ने जानकारी दिनु भयो ।
उहाँले संगठनले जनतालाई भूकम्प प्रतिरोधात्मक, आगलागीबाट कम क्षति हुने, हावाहुरी र चट्याङ्कवाट सुरक्षित घरमा निर्माणका लागि जनचेतना वृद्धि गर्ने कार्य गर्नुपर्ने सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले संगठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलव्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधासम्पन्न प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकोले यसवाट जनता एवं निर्माण तथा सेवा व्यवसायीले लाभ लिने विचार राख्नुभयो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी,उपाध्यक्ष भोलेश्वर दुलाल ,प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा,उद्योग व्यापार संघ मोरङका अध्यक्ष अनुपम राठी प्रदर्शनी निर्माण उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने धारणा राख्न् भएका थिए ।
नेपाली निर्माण सामाग्री तथा सेवाहरुको प्रवद्र्धन,स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापन मार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।
उक्त प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी ,प्राविधिक जनशक्ति, सामाग्रीहरु एकै स्थानबाट जानकारी प्राप्त हुने संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भयो ।

यस क्षेत्रमा यस प्रकारको प्रदर्शनी पहिलो पटक आयोजना गरिएको हो भने प्रदर्शनी स्थलमा विभिन्न घर निर्माण सामाग्रीहरुका ७५ बटा स्टलहरु रहने छन् ।
प्रर्दशनीमा डिजाईन तथा प्लानिङ अन्तरगत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ तथा वास्तु परामर्श सेवा, निर्माण सामाग्री अन्तरगत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्र्तगत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत तथा उर्जा अन्तरगत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी सुरक्षा जस्ता उत्पादन र सेवाहरु रहने अध्यक्ष राठीले बताउनुभयो ।
प्रदर्शनी स्थलमा वाटरपु्रफिङ तथा भवन उपचार,सोलार होम प्रणाली, स्मार्ट हाउस अवधारणा, वातावरण मैत्री निर्माण प्रवृत्ति, धमिरा नियन्त्रण समाधान, आधुनिक मोड्युलर किचन प्रविधि तथा भूकम्प प्रतिरोध, आगो सुरक्षा र किचन सुरक्षा जस्ता विषयमा विज्ञहरुद्वारा दैनिक अभ्यास, प्रस्तुति तथा छलफल गरिने छ ।
प्रदर्शनी प्रत्येक दिन विहान १० वजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ भने दैनिक दुई हजार सर्वसाधारण नागरिकहरुले अवलोकन गर्ने विश्वास संयोजक गोल्छाले गर्नु भयो ।–––