प्रदेश सरकारले नतिजामुखी बजेट निर्माण गर्ने –मुख्यमन्त्री कार्की

Logo
Nav Nepal मंगलबार, चैत्र १७, २०८२

 

विराटनगर, १६ चैत ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने बताउनु भएको छ ।
कोशी प्रदेश योजना आयोगले आज आयोजना बैंक सूचना प्रणाली सम्बन्धी विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रदेश सभाका सदस्यहरुलाई राखेर योजना छनौट र योजना बैंकमा योजना इन्ट्री गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिन आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री कार्कीले विगतमा हामीले गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रुपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरेको बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी यसपटकको बजेटमा बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताउनु भयो ।
उहाँले प्रदेश संरचनाले यसपटक देखिनेगरी काम गर्नका लागि आग्रह गर्दै गत वर्षको जस्तो बजेट निर्माणमा भएका कमजोरीहरु यसपटक नदोरिने र जिल्ला तहबाट नै बजेट इन्ट्री गर्ने प्रणाली विकास गरिएको जानकारी दिनुभयो ।
मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा हाम्रा विकासका गति अघि बढ्न नसकेको गुनासो गर्नु भयो ।
प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पसहरूसँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
प्रदेश योजना आयोगमार्फत परम्परागत रूपमा घरपरिवारमा उत्पादन गरिँदै आएको घरेलु मदिरा रक्सीको उत्पादन गुणस्तर र परीक्षण एवं ब्रान्डिङ विषयका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता समेत गरिएको छ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरेको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैंकलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो।
कार्यक्रममा प्रदेशका सभामुख, विभिन्न मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077