विराटनगर,२७ वैशाख ः दोस्रो नेपाल ग्रासरुट छात्रा क्रकेट महोत्सव २०८३ विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा ग्रासरुट क्रिकेट महोत्सव सम्पन्न भएको हो ।
महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरुलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाईको अवसर सृजना गर्नु नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।
कोशी प्रदेशका विराटनगर, सुनसरी (टरहरा), उदयपुर, पथरी र इलाम तथा मधेश प्रदेशका सिरहा र राजविराजबाट ७ वटा हबबाट ६३ जना बालिकाहरूको सक्रिय सहभागिता रहेका थिए ।
महोत्सवभर ८ ओभरको सफ्ट बल क्रिकेटका ११ वटा खेलहरू विहानैदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।
प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।