महानगरद्वारा घरमै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु 

Logo
Nav Nepal आइतबार, फाल्गुण २०, २०८०
 विराटनगर,२० फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने कार्य आजदेखि सुरु गरेको छ ।
महानगरले १९ बटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई आज यहाँ आयोजित अभिमुखीकरण तालिमको उद्घाटन गर्नु भयो ।
स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य चेकजाँचका लागि आवश्यक पर्ने सामग्री समेत प्रदान गरिएको छ ।
नगरका प्रत्येक वडामा दुईजना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच तथा परामर्शका लागि खटाइएको छ ।
उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको उच्चरक्तचाप,  मधुमेह, अक्सिजनको लेभलको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । सम्बन्धित वडाका महिला स्वयमसेविकासमेत परिचालन गरिनेछ ।
हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ ।
घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत निर्वाह गर्नेछ ।
प्रमुख कोइरालाले आम विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको  बताउँदै स्वास्थ्यकर्मीहरूलाई अनुशासित र जिम्मेवारपूर्वक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशन दिनुभयो ।
उपप्रमुख कार्कीले यस कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह पनि गर्नुभयो ।
महानगर क्षेत्रभित्र दुई हजार ३२४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका मध्ये सबैभन्दा बढी वडा नम्बर ३ मा ३९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077