विराटनगर, ४ असार ः चिया निर्यातमा उत्पन्न अवरोधका कारण झापा र इलामका चिया उद्योगहरू पूर्ण रूपमा बन्द भएका छन्।
चिया टिप्ने मुख्य सिजनमै इलाममा सञ्चालित ५३ वटा र झापामा सञ्चालित ३६ वटा लगायत पाँचथरका चिया उद्योगहरू समेत आजैका दिनदेखि पूर्ण रूपमा बन्द भएका हुन्।
नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाद्वारा आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा नेपालको चियाको निर्यातमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
चियाको निर्यात हुन नसके किसानले उचित मूल्य नपाउने, उद्योग सञ्चालनमा कठिनाइ हुने र हजारौँ श्रमिकको रोजगारी तथा आयआर्जनमा प्रतिकूल असर पर्ने देखिने उल्लेख गर्नु भएको छ।
यो विषम परिस्थितिमा नेपाल सरकारलाई भारतीय पक्षसँग कुटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न एमाले कोशी प्रदेश कमिटीले आग्रह गरेको छ।
नेपालको ९८ प्रतिशत चिया खेती कोशी प्रदेशमा मात्र हुने गर्दछ। प्रदेशको समृद्धिको मुख्य आधार रहेको चिया क्षेत्रमा बारम्बार देखिने यस्ता संकटले यस क्षेत्रको समग्र आर्थिक गतिविधि नै धराशायी बन्ने अवस्था पुगेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उहाँले दुई देशबीचको मित्रवत् सम्बन्ध, व्यापारिक सहकार्य र पारस्परिक हितलाई ध्यानमा राख्दै उत्पन्न समस्या वार्ता र संवादको माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्न भारतीय पक्षसँग समेत अनुरोध गरिएको छ।–––