रु तीन अर्ब ५६ करोड ४७ लाखको बजेट सार्वजनिक

Logo
Nav Nepal बुधबार, आषाढ १०, २०८३

विराटनगर, १० असार ः विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८३ ÷८४ को लागि कुल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज यहाँ सार्वजनिक भएको छ ।
नगर सभाको १८ औँ अधिवेशनको कार्यसूची अनुसार महानगरका प्रमुख एवं नगर सभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिनुभएको थियो ।
सार्वजनिक भएको बजेटमा संघीय सरकार वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ लाख, सशर्त अनुदान चालु रु ७३ करोड २९ लाख, सशर्त अनुदान पूँजीगत रु ५६ लाख गरी संघीय सरकारबाट रु एक अर्ब सात करोड २८ लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरिएको छ ।


यसैगरी, प्रदेश सरकार समानीकरण अनुदान रु तीन करोड ६२ लाख ५० हजार, सशर्त अनुादन प्रदेश सरकार चालुतर्फ रु चार करोड एक लाख २४ हजार, सशर्त अनुदान पूँजीगततर्फ रु छ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा रु १४ करोड २६ लाख ७४ हजार आय हुने अनुमान गरिएको छ ।
बाँडफाडबाट प्राप्त हुने राजस्व मध्ये सवारी साधन कर वापत रु तीन करोड आठ लाख, मनोरञ्जन कर रु ४० लाख, विज्ञापन कर रु ६० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ६७ करोड ९५ लाख ७९ हजार ३८५, मूल्यअभिवृद्धि करबाट रु १५ करोड ३९ लाख २८ हजार ९६१, अन्तःशुल्क वापत रु पाँच करोड १३ लाख नौ हाजर ६५४ गरी कुल रु ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाडबाट आय हुने अनुमान गरिएको छ ।
आन्तरिक आयतर्फ रु एक अर्ब २७ करोड २० लाख आठ हजार र विभित्र संघसंस्था अनुदान वापत रु एक करोड १६ लाख र बैंक मौज्दात वापत रु १४ करोड गरी कुल रु तीन अर्ब ५६ करोड ४७ लाख आय हुने बजेटमा देखाइएको छ ।


बजेटमा आर्थिक वर्ष २०८३÷८४ को अनुमानित क्षेत्रगत व्ययतर्फ सामाजिक विकासमा शिक्षा तर्फ रु १० करोड नौ लाख २८ हजार, स्वास्थ्यतर्फ रु सात करोड तीन लाख ९० हजार, महिला विकासमा रु ६६ लाख, बालबालिकामा रु ४८ लाख ६० हजार, अपाङ्गगतामा रु ५७ लाख, ज्येष्ठ नागरिकतर्फ रु १६ लाख, लैङ्गिक हिंसा निवारणतर्फ रु ४२ लाख ७५ हजार, खानेपानी तथा सरसफाईमा रु १६ लाख, सामुदायिक विकास कार्यक्रममा रु ५९ लाख ३६ हजार, संघसंस्था अनुदान रु छ करोड ३१ लाख ७० हजार गरी सामाजिक विकास तर्फ कुल रु २६ करोड ५० लाख ५९ हजार व्यय हुने अनुमान गरिएको छ ।


यस्तै, आर्थिक विकास तर्फ कृषि विकास रु ४६ लाख ५० हजार, पशुपन्छी तथा भेटनरीतर्फ रु एक करोड ४२ लाख ५० हजार, सहकारीतर्फ रु ११ लाख ५० हजार, उद्यमशीलता विकासमा रु ६४ लाख, उपभोक्ता हित संरक्षणमा रु आठ लाख, रोजगार प्रवद्र्धनमा रु २१ लाख ४७ हजार, पर्यटन प्रवद्र्धनमा रु १२ लाख, सार्वजनिक निजी साझेदारीमा रु १० लाख, सुरक्षित आप्रवासनमा रु १० लाख ४० हजार गरी आर्थिक विकासतर्फ रु तीन करोड २६ लाख ३७ हजार व्यय हुने बजेटमा अुनमान गरिएको छ ।
पूर्वाधार विकास तर्फ म्याचिङ्क फण्डका लागि रु एक करोड, वडा स्तरीय योजनतर्फ रु ४३ करोड ५६ लाख ३२ हजार, शहरी विकास घर नक्शा इजाजत रु ४० लाख, भूउपयोग आवास तथा वस्ती विकास कार्यक्रममा रु २३ लाख, बहुवर्षीय तथा गैरवका आयोजनामा रु १५ करोड, बहुवर्षीय ठेक्का तथा दायित्व सरी आएका योजनाहरुमा रु २५ करोड, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु ६० करोड, विद्युततर्फ रु एक करोड, सडक बोर्डबाट सञ्चालित योजनतर्फ रु एक करोड समेत गरी रु एक अर्ब ६० करोड ३९ लाख ३२ हजार पूर्वाधार विकासमा खर्च हुने भनिएको छ ।


सुशासन तथा संस्थागत विकासमा राजस्व व्यवस्थापनतर्फ रु २४ लाख, कानुन तथा न्यायिकमा रु ४७ लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनमा रु ३२ लाख ८० हजार, सूचना तथा सञ्चारमा रु ४८ लाख, सूचना प्रविधिमा रु ६६ लाख ८० हजार, सुशासन तथा सेवाप्रवाहमा रु ४० लाख ५० हजार, सामाजिक सुरक्षा तथा पञ्जीकरणमा रु ३४ लाख गरी सुशासन तथा संस्थागत विकासमा कुल रु दुई करोड ९३ लाख १० व्यय हुने बताइएको छ ।
यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ फोहोरमैला व्यवस्थापनमा रु एक करोड २८ लाख, विपद् व्यवस्थापनमा रु ९६ लाख, वन, वातावरण तथा हरियाली प्रवद्र्धनमा रु ३५ लाख ६० हजार गरी यस क्षेत्रमा कुल रु दुई करोड ५९ लाख ६० हजार व्यय हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ७६ करोड २८ लाख ७८ हजार, संघीय सरकार सशर्त चालु अनुदान अन्तर्गत रु ७३ करोड २९ लाख, पूँजीगत अनुदान अन्तर्गत रु ५६ लाख, प्रदेश सरकार सशर्त चालु अुदान अन्तर्गत रु चार करोड एक लाख २४ हजार, पूँजीगत अनुदान अन्तर्गत रु छ करोड ६३ लाख गरी कुल रु तीन अर्ब ५६ करोड ४७ लाख व्यय हुने सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।
अधिवेशनमा विभित्र विधेयक र समितिहरुका प्रतिवेदनमा छलफल एवं विभित्र समयमा भएका बैठकका निर्णयहरुको अनुमोदन हुने महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले जानकारी दिनुभयो ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077