बिराटनगर : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), मोरङले हालै देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि ५४ लाख ६५ हजार ८३४ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
गत भदौ १० गते आएको भीषण बाढीपहिराका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो निज व्यक्त गर्दै हिसान मोरङले उक्त राहत रकम संकलन गरेको हो। हिसान मोरङका अध्यक्ष अमित ढकालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममध्ये २६ लाख ३३ हजार ५५५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा र २८ लाख ३२ हजार २७९ रुपैयाँ ‘हिसान केन्द्र’ को खातामा जम्मा गरिएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिसान मोरङले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को यो कठिन परिस्थितिमा पीडितहरूको उद्धार र पुन:स्थापनाका लागि सरकारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै हिसान मोरङले प्रभावित क्षेत्रमा द्रुत गतिमा पुन:स्थापना र पूर्वाधार निर्माणका कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको छ। साथै, संस्थाले भविष्यमा पनि शैक्षिक विकासका साथै मानवीय र सामाजिक विपद्को अवस्थामा निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सहयोग गर्ने प्रमुख विद्यालयहरू र रकम विवरण:
शिक्षादीप मा.वि.: रु. १३ लाख ५२ हजार
अरनिको मा.वि.: रु. १० लाख ९ हजार ९०९
वि.के.भिम.एम.: रु. १० लाख
मेरिल्याण्ड मा.वि.: रु. ५ लाख ९१ हजार ९९९
अर्किड मा.वि.: रु. ५ लाख ९ हजार ३४९
कान्तिपुर मा.वि.: रु. ४ लाख ३५ हजार ६९९
सगरमाथा मा.वि.: रु. २ लाख १ हजार
ग्रीनल्याण्ड मा.वि.: रु. १ लाख ५५ हजार ५५५
रेड स्टार मा.वि.: रु. १ लाख ५५ हजार ५५५
सोम्स कलेज: रु. ७९ हजार ५५५
भानु मा.वि.: रु. २५ हजार
निहारिका कलेज: रु. २५ हजार
लर्डबुद्ध कलेज: रु. २६ हजार
सिद्धार्थ मा.वि.: रु. ५ लाख ५ हजार
(कुल जम्मा रकम: रु. ५४,६५,८३४।–)