फार्मासिस्टलाई स्वास्थ्य सेवाको सक्रिय हिस्सेदार बनाउनुपर्छ ः उपकुलपति

Logo
Nav Nepal शुक्रबार, आश्विन ०९, २०८३

विराटनगर,९ असोज  – मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले फार्मासिस्टलाई औषधि वितरणमा मात्र सीमित नराखी स्वास्थ्य सेवा प्रणालीको सक्रिय र जिम्मेवार हिस्सेदारका रूपमा विकास गर्नुपर्ने बताएका छन ।
विश्व फार्मासिस्ट दिवस–२०२६ का अवसरमा बुधबार मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेस अन्तर्गतको फार्मेसी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले औषधिको सुरक्षित र तर्कसंगत प्रयोगदेखि बिरामीको औषधीय हेरचाहसम्म फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने भएकोले उनीह०रुलाई औषधि वितरणमा मात्र सिमित राख्न हुदैन भनेका हुन ।
उनले बदलिँदो स्वास्थ्य सेवाको आवश्यकतासँगै फार्मासिस्टको भूमिका पनि थप व्यापक र सक्रिय हुनुपर्नेमा जोड दिए । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नाराले पनि फार्मासिस्टको व्यावसायिक क्षमता र जिम्मेवारी विस्तार गर्नुपर्ने आवश्यकतालाई स्पष्ट गरेको उपकुलपति पोखरेलले बताए ।
उपकुलपति पोखरेलले फार्मेसी शिक्षालाई केवल पाठ्यक्रम र परीक्षामा सीमित नगरी व्यवहारिक ज्ञान, अनुसन्धान, नवप्रवर्तन र समुदायसँगको प्रत्यक्ष सम्बन्धसँग जोड्नुपर्ने बताए । उपकुलपति पोखरेलले भने ‘ विश्वविद्यालयबाट उत्पादन हुने फार्मासिस्टले औषधिको गुणस्तर र उचित प्रयोगबारे जानकारी दिने मात्र नभई बिरामीको स्वास्थ्य सुधारमा चिकित्सक र स्वास्थ्यकर्मीसँग समन्वय गरेर काम गर्न सक्ने दक्षता हासिल गर्नुपर्छ औषधि वितरणमा मात्र सिमित हुनुहुदैन ।’
उनले विश्वविद्यालयले फार्मेसी शिक्षालाई प्रयोगात्मक तथा अनुसन्धानमुखी बनाउँदै समाजको वास्तविक स्वास्थ्य आवश्यकतासँग जोड्ने प्रयास गरिरहेको जानकारी गराए । औषधिको गलत वा अनावश्यक प्रयोगले व्यक्तिको स्वास्थ्यमा असर पार्नुका साथै स्वास्थ्यमा समेतआर्थिक भार सिर्जना गर्ने भएकाले औषधिको तर्कसंगत प्रयोगबारे जनचेतना अभिवृद्धिमा फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने बताए ।

फार्मेसी क्षेत्रलाई स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न विश्वविद्यालय, स्वास्थ्य संस्था, औषधि उद्योग तथा नियामक निकायबीच सहकार्य आवश्यक रहेको उपकुलपति पोखरेलको भनाई छ । उनले विद्यार्थीलाई अध्ययनकै क्रममा व्यावसायिक अनुशासन, सामाजिक उत्तरदायित्व र बिरामीप्रतिको संवेदनशीलता विकास गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा फार्मासिस्टको भूमिका औषधि उपलब्ध गराउने वा वितरण गर्ने कार्यमा मात्र सीमित नरहेको विषयमा समेत चर्चा गरिएको थियो। औषधिको सही छनोट, मात्रा, प्रयोग विधि, सम्भावित अन्तरक्रिया, प्रतिकूल असर तथा बिरामीलाई आवश्यक औषधीय परामर्श दिनेसम्म फार्मासिस्टको जिम्मेवारी रहने सहभागीहरूले बताएका थिए।
विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी डीन डा. रेखा श्रेष्ठले फार्मेसी विभागले दक्ष, जिम्मेवार र सेवामुखी जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताईन । उनले फार्मेसी शिक्षा, अनुसन्धान, व्यावसायिक उत्कृष्टता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवामा फार्मासिस्टको प्रभावकारी उपस्थिति बढाउने लक्ष्य फार्मेसी विभागले लिएको बताइन ।
फार्मेसी विभागका प्रमुख तथा कार्यक्रमका अध्यक्ष साईविजय रिजालले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने मुल नारा सहित आयोजना गरिएको दिवसले फार्मासिस्टको व्यावसायिक क्षमता अभिवृद्धिसँगै स्वास्थ्य सेवामा उनीहरूको सक्रिय सहभागिता र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको बताए ।
कार्यक्रममा नेमुवा प्रहरी इन्चार्ज खड्का बहादुर राई, प्रमुख प्रशासनिक अधिकृत सुजन भुर्तेललगायत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा अध्यनरत बी.फार्मेसीका विद्यार्थीहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077