विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले पूर्वाधार विकासमार्फत जनतालाई परिवर्तनको अनुभूति गराउने गरी काम भइरहेको बताउनुभएको छ। उहाँले अधुरा योजनालाई प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने र हिमाल, पहाड तथा तराईलाई रणनीतिक सडक सञ्जालबाट जोड्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री आचार्यले जनताको आम्दानी र समृद्धिसँग जोडिएका पूर्वाधारलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ। उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन र जनउत्तरदायी सेवा प्रवाहमार्फत प्रदेशवासीमा सरकारप्रति आशा जगाउने उल्लेख गर्नुभएको छ।
मन्त्री आचार्यले बढ्दो महँगीका कारण जनजीवन असहज भइरहेका बेला चाडपर्वलाई आर्थिक अवस्थाअनुसार सरल र मर्यादित रूपमा मनाउन आग्रह गर्नुभएको छ। श्रमजीवी, किसान, मजदुर, विपन्न तथा सीमान्तकृत समुदायसँग चाडपर्वको खुसी बाँड्नुपर्ने उहाँको भनाइ छ।
सरकारी कामकाजको भाषा विधेयक पारित भई १३ वटा राष्ट्रभाषाले कानुनी मान्यता पाउनु कोशी प्रदेशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानका लागि ऐतिहासिक उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। प्रदेशको नामकरणसम्बन्धी विषयलाई संवाद र सहमतिका आधारमा अघि बढाउनुपर्ने पनि उहाँको धारणा छ।
मन्त्री आचार्यले चाडपर्वले सामाजिक सद्भाव, समानता, भ्रातृत्व र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ।