गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी विषयक कोशी प्रदेशस्तरीय सम्मेलन सुरु

Logo
Nav Nepal आइतबार, मंसिर १४, २०८३
विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन सुरु भएको छ । आज कोशी प्रदेशको राजधानी विराटनगर स्थित होटल स्वागतममा सम्मेलनको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री गिता तिम्सिनाले गर्नुभयो । कोशी प्रदेशका नीजि तथा सामुदायिक विद्यालयका चारसय भन्दा बढी शिक्षक, शिक्षिका सहभागि कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री तिम्सिनाले शैक्षिक सुधारका लागि तीनै तहका सरकारको भूमिका आवश्यक पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको भागमा पर्ने आवश्यक नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताउँदै उहाँले व्यवहारिक कार्यान्वयनमा लाग्न उपस्थित शिक्षक शिक्षिकासँग आग्रह गर्नुभयो ।
राजनीति र विद्यार्थीको सम्बन्ध कतै न कतै जोडिने भन्दै त्यसलाई बुझाउन शिक्षण संस्थाको समेत भूमिका हुने चर्चा गर्नुभयो । उहाँले पछिल्लो समय नैतिकशिक्षाको समेत कमि हुँदै गएको अनुभूति हुने गरेको भन्दै उहाँले त्यसतर्फ समेत ध्यान जान जरुरी रहेको औल्याउनुभयो । गर्दा हुन्छ भन्ने उदाहरण विराटनगरकै एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रिय खेलकुद प्रतियोगितामा ८ जना विद्यार्थीलाई पठाएर पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो कोशी प्रदेशकै गौरवको विषय पनि हो । अध्ययनले मात्र हैन यस्ता खेलकुदलगायतका गतिविधि समेतले नै सर्वाङ्गिण विकास हुने हो ।

रातो बंगला फाउण्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा नै प्रमुख वक्ता शान्ता दिक्षितले गुणस्तरी प्रारम्भिक बालशिक्षा किन भन्ने विषयमा प्रस्तुति प्रस्तुत गर्नुभयो । यस्तै प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्थाका विषयमा रातो बंगला स्कुलकी प्रधानाध्यापक मिलन दिक्षित, प्रारम्भिक बाल शिक्षा विज्ञ मिनाक्षी दाहाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश उपसचिव लक्ष्मी न्यौपाने र पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेसँग प्यानल छलफल चलाइएको थियो ।

प्इानल छलफलको सहजकर्ता रातो बंगला फाउण्डेसनकी कार्यकर्ता एलिना सुब्बा रहनुभएको थियो ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो । भोली एभरेष्ट कलेज परिसरमा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा  प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ । व्यवस्थापकीय भूमिका निर्वाह गरेको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले सम्मेलनले शिक्षण सिकाईमा एकरुपता ल्याउन तथा प्रभावकारी सिकाईमा सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

नीजि तथा सामुदायिक सबै विद्यालयका शिक्षकहरु एक ठाउँमा बसेर गरिने यो सम्मेलनले प्रारम्भिक बाल शिक्षाको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ । रातो बंगला फाउण्डेसनले यस्तै सम्मेलन सात वटै  प्रदेशमा गर्ने जनाएको छ । यस अघि हेटौडा र पोखरामा सम्पन्न भइसकेको फाउन्डेसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077