विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलकी छात्रा स्नेहा कोइरालाले रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा कास्य पदक जित्नुभएको छ । उक्त प्रतियोगितामा कोइरालासँगै नेपालका चारजना विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका हुन् । प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदकसहित चार पदक जित्न सफल भएको छ ।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जित्नुभएको छ । त्यस्तै, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गर्नुभएको हो ।
रजत पदक विजेता रिवाशले प्रतियोगितामा ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गर्नुभयो । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।
रुसमा सम्पन्न प्रतियोगितामा आफ्ना विद्यार्थीले भाग लिने मात्रै नभई देशकै नाम राख्दै उपाधी जित्दा गौरव लाग्ने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँले विद्यार्थी र विद्यालयका लागि गरेको मेहनत र लगानी सार्थक बन्दै गएको अनुभूति हुने बताउनुभयो । कोशी प्रदेशमा रहेर देशकै अब्बल विद्यालयका रुपमा परिचित एभरेष्टले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा विद्यार्थीको सहभागिता बढाउँदै लगेको छ । एभरेष्टका विद्यार्थी विश्वसँग प्रतिष्पर्धि बन्नुपर्छ भन्ने मान्यता सार्थक बन्दै गएको प्रिन्सिपल पुरीको भनाई छ । उहाँले भन्नुभयो,‘यो विद्यार्थी र विद्यालयको मात्रै हैन देशकै गौरवको विषय हो ।’ स्नेहा एभरेष्टमा कक्षा ११ अध्ययनरत हुनुहुन्छ ।
यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड–जुनियरमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए । उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गर्नुभएको थियो । आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।
एकै महिनामा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्नुले नेपाली युवाको विज्ञान तथा खगोल विज्ञानप्रतिको क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढ्दो सफलतालाई उजागर गरेको छ ।