

विराटनगर,३ असोज ः कोशी प्रदेश सरकारले संविधान दिवस एवं राष्ट्रिय दिवस विविधि कार्यक्रमको आयोजना गरि आज मनाएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डोत्तोलन गरि संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई हार्दिक शुभकामना दिनु भएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस –२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले नेपाली जनताको सात दशक भन्दा लामो संघर्ष र बलिदानबाट प्राप्त जननिर्वाचित ऐतिहासिक संविधानसभा द्वारा वि.सं. २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्दै आज हामी संविधान विवस तथा राष्ट्रिय दिवस मनाइरहेको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्नु भएको छ ।
उहाँले गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले भष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग राखेर गरेको प्रदर्शनको क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप सुदृढ बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न संविधानको पालना र कानुनको शासन अपरिहार्य भएको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन शान्ति र सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ तुल्याउनु पर्ने पर्ने उल्लेख गर्नुभयो ।
उहाँले तसर्थ आवेग उत्तेजना र प्रतिशोधको भावनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखी यथार्थको धरातलमा उभिएर विवेकसम्मत ढङ्गले अगाडि बढ्नु हामी सबैको दायित्व भएको बताउनु भयो ।
संविधान दिवस मनाइरहँदा जननिर्वाचित ऐतिहासिक संविधानसभाबाट संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्णायक भूमिका खेलेका राजनीतिक दल तथा नागरीक समाजले आफ्नो कर्तब्य र दायित्वलाई समयानुकुल समीक्षा गर्दै अग्रसर बन्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो , ‘ तिन तहकै सरकारहरुले पनि संबैधानिक दायित्व पुरा गर्न किन्चित पछि हट्न हुदैन ।’
उहाँले लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, समानता अवधारणालाई अङ्गीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उल्लेख गर्दै यसका लागि कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाक्षा पुरा गर्ने अभिभारा आजका युवा पुस्तामा आएको छ भन्दै यसलाई पुरा गर्नका लागी आवेग, उत्तेजनामा होईन सुझबुझका साथ अघि बढ्न सबैलाई संबिधान दिवसले प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको बताउनु भयो ।
युवाहरूको माग, दबाव र स्वाभाविक आक्रोशलाई भने सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्नसक्नु सम्बद्ध सबैको दायित्व भएको उहाँले उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘युवाहरूमा रहेको जाँगर, उर्जा,सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा सहयात्रा गर्न प्रदेश सरकार चाहन्छ ।’
उहाँले मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि सम्पूर्ण राजनीतिक दल, नागरीक समाज र आम नेपाली जनता सजक, सचेत रहन् पर्ने बताउनु भयो ।
देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता लाई अटल राख्न रास्ट्रीय परिस्थितिको सूक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढङ्गले अग्रसर हुनपर्ने आजको टडकारो आवश्यकता भएको उहाँले उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिमा संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सम्पुर्ण राजनितिक दल, नेपाली जनता एक ढिक्का बन्नु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता रहेको उल्लेख गर्नु भयो ।
उहाँले संबिधान जारी भएको आज दश वर्ष पुरा भएको छ, संबिधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरुलाई निराकरण गर्न संबिधान संसोधनका माध्ययमबाट अघि बढ्न पर्ने आवश्यकता महसुस भएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले विधिपूर्वक, राष्ट्रिय एकता कायम गरी यसलाई अघि बढाउनपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, सङ्घीय एवं प्रदेशका सरकारका कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।–––