

विराटनगर, ७ असोज ःजेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आज विभिन्न कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।
नगरका पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा स्टिल दराज १० थान, कम्प्युटर टेवल १० थान, कम्प्युटर आठ थान र प्रिन्टर चार थान हस्तान्तरण गरिएको हो ।
नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान कम्प्युटर टेवल उपलब्ध गराएको छ ।
यस्तै सुन्दरहरैचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक÷एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज प्रालिले कम्प्युटर र प्रिन्टर एक÷एक थान, सुन्दरहरैचा –७ का विशाल खरेलले प्रिन्टर दुई थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको पूर्व नगर प्रमुख ढकालले बताउनुभयो ।
सुन्दरहरैचाका नगरप्रमुख केदारप्रसाद गुरागाँइले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताउदै नगरपालिकाले आफ्नो सेवा प्रवाह शुरु गरिसकेको बताउनुभयो ।
पूर्व नगर प्रमुख ढकालले नगरवासीको सहयोगमा नगरपालिकालाई पुरानै अवस्थामा फर्काइने उहाँले बताउनुभयो ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको करिव रु चार करोड ३० बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो ।
जेनजीको आन्दोलनका क्रममा प्रर्दशनकारीहरुले सुन्दरहरैचा नगरपालिका कार्यालयसँगै नगर प्रमुख गुरागाँइ र पूर्व नगर प्रमुख ढकालको घरमा रहेका सम्पूर्ण सामानहरुमा आगजनी गरेका थिए ।
त्यसैगरि पूर्व मन्त्री भानुभक्त ढकालको घर, नेपाली कांग्रेस नगर कार्यालयमा तोडफोड तथा आगजनी गरिएको थियो ।–––