विराटनगर, २८ कात्तिक । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने मान्यताका साथ कार्यक्रम अघि बढाउँदै लगेको छ ।
विद्यालयले अपनाएका पद्धति, शैक्षिक वातावरणको विषयमा अभिभावकलाई जानकारी गराउँदै घरायशि वातावरण पनि सोहि अनुसारको तयार गर्न एभरेष्टले अभिभावकहरूसँग आग्रह गरेको छ ।
एभरेष्टका प्राचार्य टिकाराम पुरीले विद्यालय तथा अभिभावकले गरेको लगानीलाई सार्थक तुल्याउन हरेक बालबालिकाको सर्वाङ्गीण विकास कतिको भयो भन्ने कुराले निर्धारण गर्ने भन्दै समयसँगै शैक्षिक वातावरण पनि गतिशिल रहेको बताउनुभयो ।
उहाँले शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकका लागि आयोजित ‘काउन्सिलिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय स्थापनको ३२ वर्षीय यात्रामा एभरेष्टका विद्यार्थी विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने भएको स्मरण गराउनु भयो ।
प्राचार्य पुरीले भन्नुभयो,‘यसका लागि अभिभावकको भूमिका पनि उत्तिकै छ, अझै समयको गतिसँगै हामीले गर्ने व्यवहार महत्वपूर्ण हुने भएकाले सोहि अनुसार अपडेट हुन कार्यक्रमले सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
विद्यालयका उप प्रचार्य कुन्दन पुरीले एभरेष्टले अपनाएका शिक्षण पद्धति, शैक्षिक वातावरण, काउन्सिलिङ विधि, विभिन्न संस्थाहरुसँगको सहकार्य, शैक्षिक गुणस्तरका लागि चालिएका कदम तथा सर्वाङ्गीण विकासका लागि गरिएका कार्यहरुको चर्चा गर्नुभयो ।
कार्यक्रममा सहभागि अभिभावकहरुलाई उत्प्रेरक प्रितम पौडेलले प्रेरणादायी भनाइका साथै अभ्यास गराई घरको वातावरण कस्तो हुनुपर्छ भन्ने बुझाउनुभएको थियो ।
घरमा अभिभावकले खेल्ने भूमिका कस्तो हुँदा बालबालिकामा सकारात्मक उर्जा मिल्ने र सफल ब्यक्तित्व निर्माणमा सघाउ पुग्छ भन्ने उहाँले उदाहरणहरु दिनुभएको थियो ।
सहभागि अभिभावकहरुले कार्यक्रम निकै नै फलदायी भएको प्रतिक्रिया दिनुभएको छ ।
एभरेष्ट कलेजका सह प्राचार्य टी एन भण्डारी, विद्यालयका विभिन्न तहका इन्चार्ज, शिक्षक कर्मचारीहरुको सहभागिता थियो ।
स्कुलका अनुसार कक्षा ९ र १० का अभिभावकका लागि शनिवार विहान कार्यक्रम राखिएको छ ।–––