विराटनगर, २९ कात्तिक ः स्वास्थ्य सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्ति आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् ।
कोशी प्रदेश स्तरिय आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको विराटनगरमा जारी एकिकृत बार्षिक समीक्षा गोष्ठीमा सरोकारवालाहरुसँग ‘स्वास्थ्य सेवाको गुणस्तरियता तथा जवाफदेहीता’ विषयक छलफल कार्यक्रममा सहभागी स्थायी जनशक्ति जवाफदेही हुने भनाई छ ।
करार सेवामा रहनेहरुको सेवा अवधि टुङ्गो नहुने भएकाले पनि सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्तिमा जोड दिईएको छ ।
स्वास्थ्य सेवामा स्थायी जनशक्ति ५० प्रतिशत खाली छ । ठुलो संख्यामा स्थायी जनशक्ति खाली भएका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको सरोकारवालाहरुको भनाई रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले स्थायी जनशक्ति भए जवाफदेही हुने बताउनुभयो ।
उहाँले सेवाग्राही सन्तुष्ट भएमात्रै सेवा प्रवाह राम्रो भएको मानिने बताउँदै स्थायी जनशक्ति भए तालिम प्राप्त हुने र उसले गुणस्तरिया कायम गर्न सक्ने भनाई छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले स्थायी जनशक्ति नभएसम्म गुणस्तरिय सेवा दिन समस्या हुने बताउनुभयो ।
जिल्ला अस्पताल भोजपुरकी प्रमुख डा पवित्रा श्रेष्ठले जनशक्ति अभावले जिल्ला अस्पतालहरुले विशेषज्ञ सेवा दिन समस्या रहेको बताउनु भयो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले गुणस्तरिय सेवा प्रवाहका लागि नियमित अनुगमन भईरहेको बताउनुभयो ।
छलफल कार्यक्रमको सहजीकरण जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले गर्नुभएको थियो ।
शुक्रबारदेखि शुरु गोष्ठीमा स्वास्थ्य मन्त्रालय, मन्त्रालय अन्तरगतका निकायहरु, जिल्ला स्वास्थ्य कार्यालयहरु, अस्पताल, आयुर्बेद स्वास्थ्य केन्द्रहरुको बार्षिक समीक्षा भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।–––