विराटनगर ,४ पुस ः मानव बेचविखनमा परेकाहरुको उद्धार तथा अपराधमा सङ्लग्नहरुलाई नियन्त्रणमा लिने कार्यमा नेपाल र भारतीय प्रहरीवीच समन्वय राम्रो भएको दुवै देशका सुरक्षा अधिकारीहरुले बताउनु भएका छन् ।
नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा माइती नेपालद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित दुई दिने अन्तरदेशिय कार्यशाला गोष्ठीको आज समापनका अवसरमा सहभागी सुरक्षा अधिकारीहरुले सीमापार हुने मानव बेचविखन तथा ओसारपसारमा सङ्लग्नहरुलाई नियन्त्रणमा लिएर एक अर्का देशमा जिम्मा लगाउने कार्यमा दुवै देशवीच राम्रो समन्वय भएको जानकारी गराएका छन् ।
दिल्ली प्रहरीका डा.राकेश कुमारले मानव बेचविखन तथा ओसारपसार विश्वकै समस्या भएको बताउँदै विश्वमा करिव पाँच करोड व्यक्ति मानव वेचविखनको शिकार बनेको विचार राख्नुभयो ।
उहाँले सीमापार हुने मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि नेपाल र भारतवीच भएको छलफल कार्यक्रम प्रभावकारी भएको धारणा राख्नुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुगमन गरि कारवाहीका लागि स्पष्ट अधिकार दिनुपर्ने बताउनुभयो ।
नेपाल प्रहरी मानव बेचविखन तथा अनुसन्धान व्युरोका बरिष्ठ प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भारतीय प्रहरीले मानव बेचविखनमा परेकाहरुको उद्धार तथा अपराधमा सङ्लग्नहरुलाई नियन्त्रणमा लिने कार्यमा समन्वय राम्रो भएको बताउनुभयो ।
सीमा सुरक्षा वल विहार बथनाह भारतका संजीव कुमारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा नेपाल प्रहरी, गैरसरकारी संस्थाहरुसँग नियमित बैठकबाट नियन्त्रणमा सहयोग पुगेको जानकारी गराउनु भयो ।
साईबर ब्युरो काठमाण्डौंका सुरज बरालले भारतसँगको समन्वय विना नेपालमा अपराध गरि भारत तर्फ फरार भएकाहरुलाई नियन्त्रण गर्न कठीनाई हुने बताउनुभयो ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालले मानवबेचविखनमा सङ्लग्न गिरोहले प्रलोभनमा पारि खुशी बनाएर सीमापार गराउने घटना वृद्धि भएको विचार राख्नु भयो ।
नेपाली वाणिज्य कार्यालय कलकोत्ताका सुरेशराज रेग्मीले यो वर्ष वेचविखनमा परेका तीन जना बालिकाहरुलाई उद्धार गरी नेपाल पठाएको जानकारी गराउनु भयो ।
नेपाल सरकारका पूर्व सहसचिव रत्नकाजी बज्राचार्यले मानवबेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आवश्यक मात्रामा बजेट विनियोजन हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।
नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे दुईदिने अन्तराष्ट्रिय कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले विहीबार शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा मन्त्री श्रेष्ठ, माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल र भारतका सुरक्षा अधिकारीहरु, मानव वेचविखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल भारत तथा नेपालका विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।–––