विराटनगर ,९ पुस । विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता– २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ। विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा, श्रीजनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एक–एक स्वर्ण जित्न सफल भएको हो।
आज छात्रहरूको सटपुट थ्रोमा एभरेष्ट माविका कुशल अधिकारीले स्वर्ण जित्न सफल हुनुभएको थियो भने रजत पदक ग्रेडेड माध्यमिक विद्यालयका अमृत राज साह र कास्य पदक श्रीमिल्स माध्यमिक विद्यालयका रुपेश राजवंशीले जित्नु भएको थियो।
छात्राहरूको सटपुट थ्रोको स्वर्ण पदक एभरेष्ट माविकी आस्ना गिरी, रजत पदक श्रीजनता नमुनाकी बबिता राणा र कास्य पदक आदर्श माविकी रानी कुमारी सिंहले जित्न सफल हुनुभएको थियो।
त्यस्तै, छात्रहरूको १५०० मिटर रेसमा श्री जनता नमुनाका समिर राजवंशीले स्वर्ण जित्दा श्रीसत्यनारायण माध्यमिक विद्यालयका प्रियांशु साहले रजत र आदर्श माध्यमिक विद्यालयका गगन काजुन लिम्बूले कास्य पदकमा चित्त बुझाउनु परेको थियो।
छात्राहरूको १५०० मिटरको रेसमा भने आदर्श माध्यमिक विद्यालयका अर्चना कुमारी राजवंशीले स्वर्ण, श्रीजनता नमुना माविकी बबिता राणाले रजत र श्रीसत्यनारायण माविकी आँचल मण्डलले कास्य पदक जित्नु भएको थियो।
प्रतियोगिताको पहिलो दिन भलिबल, कबड्डीलगायत विभिन्न ट्रयाक एण्ड फिल्ड इभेन्टका प्रारम्भिक चरणका खेलहरू समेत सम्पन्न भएको एभरेष्टका प्राचार्य टिकाराम पुरीले जानकारी दिनु भयो।
पुस ९ देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ भने प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ।