विराटनगर, १८ पुस ः निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माविको दुई तले भवन रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिदिने हुनु भएको छ ।
सो विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएको शर्माले आज शिलन्यास गर्नुभएको भवनमा पाँच –पाँच कोठा निर्माण गरिने छ ।
भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक इश्वर खनालले बताउनुभयो
डा. शर्माले भवन निर्माण गरि एक वर्ष भित्रमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुशार रु दुई करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गर्ने व्यक्तिले विद्यालयको नाम परिवर्तन गर्न सक्ने प्रावधान छ । सोही व्यवस्था अनुशार डा. शर्माले सो विद्यालयको साविकको नाममा आफ्ना बुवा–आमाको नाम थप्नु भएको छ ।
विद्यालय नाम परिवर्तनको सम्पूर्ण प्रकृया गत पुस १३ गते सम्पन्न भएको प्रधानाध्यापक खनालले बताउनुभयो ।
डा. शर्माका बुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको नाम थपिएर आजदेखि विद्यालयको नाम जनता लोकनाथ होमादेवी मावि भएको घोषणा पनि गरिएको छ ।
सो विद्यालय विस २०२२ सालमा स्वर्गीय नरेन्द्रबहादुर थापाले स्थापना गर्नुभएको थियो ।
संस्थापक थापाको नाममा रु ५० लाख र डा. शर्माका जिजु हजुरवुवा र हजुर वुवाको नाममा रु २५–२५ लाख गरि रु एक करोडको छात्रबृत्ति कोष स्थापना गर्ने पनि उहाँले सोही अवसरमा घोषणा गर्नुभयो ।
थापाकी श्रीमती मैयाँदेवी थापाको प्रमुख आतिथ्यतामा विद्यालयको नयाँ नाम अनावरण तथा भवन शिलान्यास गरिएको हो ।
सो विद्यालयमा अहिले शिशु कक्षा देखि १० सम्म पठन पाठन हुँदै आएको छ । विद्यालयमा करिव पाँच सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खनालले बताउनुभयो ।
विद्यालयको नाम अनावरण तथा भवन शिलान्यास कार्यक्रममा मोरङ क्षेत्र नं. १ का निवर्तमान सांसद ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य गणेश उप्रेती, र तुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिहं सहितका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।––