विराटनगर,१३ माघ ःसामाजिक कार्यका विद्यार्थीको क्षमता विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयमा नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु भएको छ ।
युरोपियन यूनियनको सहयोगमा सञ्चालित उच्च शिक्षामा क्षमता विकास परियोजना अन्तर्गत नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना शुरू भएको हो ।
सन् २०२६ को जनवरीदेखि शुरू भएको परियोजनामा चेक रिपब्लिकको ओष्ट्राभा विश्वविद्यालय, स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय र फिनल्याण्डको इष्टर्न फिनल्याण्ड विश्वविद्यालयको सहकार्य छ ।
सन् २०२८ सम्म सञ्चालन हुने परियोजना पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभूवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा समेत शुरू भएको छ ।
परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकहरूलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।
परियोजनाले मुलुकका छ सय जना सामाजिक कार्यका विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्ने लक्ष राखेको छ ।
परियोजनाका स्रोतव्यक्तिहरू स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय प्राध्यापक डाक्टर एन्टिनो लोपेज र डाक्टर इनेश मार्टिनेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा माघ १२ गते सामाजिक कार्यका विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गर्नुभएको छ ।
यस्तै, आज सामाजिक कार्यको अध्ययन सकेर काम गरिरहेका विद्यार्थी र सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
विराटनगर स्थित बालसुधार गृह, सिविन नेपाल, रिचमण्ड फेलोसिपको कार्यालयको अवलोकन भ्रमण गरी उनीहरू गर्दै आएको कामको विषयमा स्रोत व्यक्तिद्वयले जानकारी लिनुका साथै कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।
छलफल मुख्यगरी नेपालमा सामाजिक कार्य शिक्षाको अवस्था, चूनौतिहरू, सम्भावना, अवसर र पाठ्यक्रममा गर्नुपर्ने सुधारमा केन्द्रित रहेको जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, सिञ्चाईं तथा उर्जा मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, बाल सुधार गृह, सिविन नेपाल, रिडेफ नेपाल, रिचमण्ड फेलोसिप लगायतका संघ संस्थाका अधिकारीहरुको सहभागिता रहेको थियो ।–––