विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले ३२ औं अभिभावक दिवसको अवसरमा विश्वस्तरीय शिक्षा यहिँबाट प्रदान गर्ने प्रण गरेको छ ।
कक्षा नर्सरीदेखि ५ कक्षाका विद्यार्थीहरुसँगको आज पहिलो दिनको अभिभावक दिवसमा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विश्वका सम्पन्न मुलुकहरुमा दिइने स्तरको शिक्षा एभरेष्टबाट नै दिने प्रण गर्नुभएको हो ।
उहाँले अहिलेको सूचना र प्रविधिको युग जति गतिशिल छ, सोहि गतिमा शिक्षाको विकास गर्नुपर्ने अवस्था रहेको भन्दै एभरेष्ट स्कुलले त्यसलाई आत्मसाथ गरेको बताउनुभयो । उहाँले विद्यालयका भौतिक संरचनामा जति लगानी गरिएको छ सोही अनुपातमा विद्यार्थीको शैक्षिक उनन्नयनका लागि पनि लगानी गरेको बताउनुभएको छ ।
उहाँले एभरेष्टका विद्यार्थीहरुले अहिले विभिन्न क्षेत्रमा प्रवेश गरि आफ्नो क्षमता प्रस्तुत गरेको देख्दा हर्ष लाग्ने भन्दै अब विश्वसँग प्रतिष्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यमा हामी अघि बढेका छौं ।
प्याब्सनका पूर्व अध्यक्ष समेत रहनुभएका प्रिन्सिपल पुरीले स्थापना कालदेखि आजसम्म आइपुग्दा अभिभावकहरुको माया, शिक्षक, कर्मचारीको मेहनत र विद्यालयको शैक्षिक वातावरणका कारण पछाडी फर्किएर हेर्नु नपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले बोल्ने मात्र हैन परिणामले देखाउनुपर्छ भन्ने मान्यता राखेका छौं । सोहि अनुसार एभरेष्टका विद्यार्थीहरुले विभिन्न मुलुकमा पुगेर आफ्नो क्षमता पुष्टि गर्न थालेको बताउनुभयो । यसैवर्ष मात्र भियतनाममा सम्म मुन सम्मेलन, हङकङ र चीनमा भएको वक्तृत्वकलामा एभरेष्टका विद्यार्थीहरुले सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुती राखेको जानकारी दिनुभयो ।
उहाँले अझै थुप्रै अन्तर्राष्ट्रिय फोरमहरुमा एभरेष्टका विद्यार्थीले सहभागिता जनाउने सुनिश्चित भएको समेत बताउनुभयो । प्रिन्सिपल पुरीले अहिलेको एआईको युगमा प्रविधि, विज्ञान र सीपलाई एकसाथ अघि बढाउनुपर्ने भन्दै त्यसको वातावरण एभरेष्टले बनाएको समेत बताउनुभयो । उहाँले राज्यले समेत अब शैक्षिक नीति परिस्कृत गर्दै काम गर्दै पढ्ने वातावरण समेत तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले एभरेष्टले दिएको शैक्षिक वातावरण अब्बल रहेको भन्दै युग सापेक्ष जनशक्ति उत्पादनमा विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्ट स्कुलले प्राप्त गरेको सफलताको श्रेय अभिभावकहरुलाई जाने बताउनुभयो । अभिभावकहरुले गरेको विश्वासकै कारण एभरेष्ट स्कुल अहिलेको अवस्थामा आइपुगेको र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने पथमा अघि बढेको बताउनुभयो ।

अभिभावक संघका कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले एभरेष्ट स्कुल मुलुककै अग्रणी शिक्षण संस्थाको रुपमा विकास हुँदै गएको बताउनुभयो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैको मेहनतले नै विद्यालयलाई सफल बनाउने बताउनुभयो । ३२ वर्ष अघि ८४ जना विद्यार्थीबाट सुरु भएको एभरेष्टले अहिलेसम्म २५ औं ब्याचका विद्यार्थीहरुलाई एसएलसी÷एसईई उत्तिर्ण गराइसकेको छ । भाडाको घरबाट सुरु भएको एभरेष्ट स्कुल अहिले आफ्नै जग्गामा अत्यधुनिक भौतिक संरचनाका साथमा सञ्चालनमा रहेको छ ।
प्ले ग्रुपदेखि कक्षा १२ सम्म २५०० विद्यार्थीलाई अध्यापन गराउँदै आएको एभरेष्ट आउँदो शैक्षिक सत्रदेखि अध्ययापन गराउन काठमाडौं विश्वविद्यालयको बीआईटीको सम्बन्धन समेत प्राप्त गरिसकेको छ ।

यस्तै एभरेष्ट स्कुलले विभिन्न संघ संस्थाहरुको सहकार्यमा विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।
अभिभावक दिवसका अवसरमा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीले अभिभावक सामु विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरे । अभिभावक दिवसको दोस्रो दिन शनिवार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको कार्यक्रम रहने विद्यालयले जनाएको छ ।