विराटनगर,१४ वैशाख ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र वुझाएको छ।
मुख्यमन्त्री कार्की सहित प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनवारलाई महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारी सहितको टोलीले पेट्रोलियम पदार्थ लगायत निर्माण उद्योगलाई आवश्यक पर्ने सामाग्रीको मूल्य वृद्धि अनुसार मूल्य समायोजन एवं म्याद थपका लागि ज्ञापन पत्रमा आग्रह गरिएको छ।
टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो ।
मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र वुझ्दै ज्ञापनपत्र बुझ्दै निर्माण क्षेत्रमा देखिएको संकटप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले व्यवसायीहरूले उठाएका विषयहरूलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्र एवं पूर्वाधार विकासमा देखिएको संकटले सबै क्षेत्रलाई असर पार्ने धारणा राख्नुभयो ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले निर्माण व्यवसायीको माग जायज रहेकोले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका व्यक्त गर्नुभयो ।
पेट्रोलियम पदार्थजन्य सामग्रीको लगातार मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र लागत असन्तुलनका कारण पूर्वाधार निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको निष्कर्षसहित निर्माण व्यवसायी महासंघले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा महासंघ प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी, द्धितीय उपाध्यक्ष सन्तोष ढुंगाना, महासचिव रमेश कार्की, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्र लगायतका पदाधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।–––