विराटनगर,१५ वैशाख ः विराटनगर जुट मिलको जग्गा ओगटेर अनधिकृत रुपमा बसोबास गरिरहेकाहरुलाई आगामी एक साता भित्रमा हटाईने भएको छ ।
जुटमिलको हडताली हाट क्षेत्र, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रुपमा बसोबास गरिरहेका परिवारलाई हटाइने भएको विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
जुटमिलको करिव १४ विगाहा क्षेत्रफलमा अतिक्रमण गरी करिव छ सय घरपरिवार बसोबास गरिरहेका छन् ।
यसैगरी जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी विगतदेखि पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई समेत हटाईने भएको छ ।
सडक किनारा क्षेत्रमा भाडा नतिरी करिव ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताईएको छ ।
संघीय सरकारको निर्णय अनुसार आगामी एक साता भित्रमा अनधिकृत रुपमा बसोबास गरिरहेका परिवारहरु र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई हटाउने प्रक्रिया अघि बढीसकेको उहाँले बताउनुभयो ।
भाडा तिरेर पसल ब्यवसाय गरिरहेकाहरुलाई बैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरुलाई प्रशासनको सहयोग लिएर असुल गरिने उहाँले बताउनुभयो ।
मिलको अतिक्रमति जग्गामा केही व्यक्तिहरु मिलेर गार्मेन्ट उद्योग समेत सञ्चालन गरिरहेका छन् ।
जुटमिलमा कार्यरत कर्मचारीका लागि बनाईएको आवासहरु अवकास पछि पनि नछाड्ने र धेरै वहिरी व्यक्तिले अतिक्रमित गरेर वसोवास गरिरहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिनुभयो ।
विराटनगर जुट मिल वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो उद्योग हो । पछिल्लो पटक विस २०७० सालदेखि यो बन्द छ ।
संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी हुनुका साथ लामो समयदेखि प्रयोगविहीन हुँदा मेशिनहरु खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ।–––