विराटनगर । शिक्षण सिकाईको पहिलो आधार नै भाषा हो भन्ने मूल मर्मका साथ विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक शिक्षिकालाई दुई दिने भाषाको विकास सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । विद्यालयका सबै तहका शिक्षक शिक्षिकालाई काठमाडौं विश्वविद्यालयका प्रा. डा। लक्ष्मण ज्ञवालीले प्रशिक्षण दिनुभएको हो । विशेषगरि नेपाली र अंग्रेजी भाषाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको हो । शिक्षक शिक्षिकाको भाषामा विकास भए मात्र विद्यार्थीको भाषा पनि विकास हुने भएकाले यो प्रशिक्षण प्रभावकारी हुने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार शिक्षण पद्दति समयसापेक्ष र विश्वस्तरीय बनाउनका लागि एभरेष्टले विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । सोहि अनुसार गत वर्ष काठमाडौं विश्वविद्यालयसँग भएको सम्झौता अनुसार यो भाषाको विकास सम्बन्धि प्रशिक्षण सञ्चालन भएको उहाँले बताउनुभयो । प्रिन्सिपल पुरीले शिक्षक शिक्षिकाको क्षमता अभिवृद्धिका लागि यस्ता किसिमका विभिन्न प्रशिक्षण तथा कार्यशालाहरू भइरहने समेत बताउनुभयो । विद्यालयका मन्टेश्वरी, प्राथमिक,माध्यामिक लगायतका सबै तहका गरि करिब एक सय जना शिक्षक शिक्षिकालाई भाषाको विकास कसरी हुन्छ ? यसको बढोत्तरी कसरी गर्न सकिन्छ ? र विद्यार्थीहरूमा भाषाको विकास कसरी गराउन सकिन्छ ? भन्ने विषयमा प्रशिक्षण दिइएको विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बताउनुभयो । तालिममा सहभागी शिक्षक भोज कुमार श्रेष्ठले तालिम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार भाषाको स्तरोन्नती गर्न प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षणमा शिक्षक शिक्षीकाले पनि निरन्तर पढ्ने, लेख्ने र सहपाठी हरुसँग छलफल गर्ने कार्य महत्वपूर्ण रहेको महशुष गराएको छ । लेखन कार्य, अध्ययन गर्ने बानी र सहपाठीसँगको छलफलले भाषाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने रहेछ भन्ने अनुभूति भएको उहाँले बताउनुभयो । यस्तै शिक्षिका कन्चन थापाले समेत प्रशिक्षणले धेरै अद्यावधिक हुन प्रेरित गरेको बताउनुभयो । उहाँले शिक्षक शिक्षिकाले अध्यापन गराउँदा कुनै एक भाषा मात्र नभएर विद्यार्थीको बुझाई अनुसारका भाषामा समेत उल्था गर्दै अध्यापन गराउन सक्दा थप प्रभावकारी हुने रहेछ भन्ने बुझिएको बताउनुभयो ।
यसैबीच शिक्षक शिक्षिकाको भाषा विकासको क्रम निरन्तर रहोस् भन्ने उद्देश्यले एभरेष्ट स्पिकर क्लव समेत गठन गरिएको छ । क्लवले वर्षमा कम्तिमा ६ पटक भाषा विकासको लागि विभिन्न कार्यक्रम गर्ने तय गरेको छ । जहाँ भाषाका नविन कुराहरु एक अर्कामा साटासाट गर्नेदेखि लेखन र पठन संस्कृतिलाई समेत बढवा दिइने छ । समग्रमा दुईदिने प्रशिक्षणले आफूहरुले गर्दै आएको कार्यलाई थप व्यवस्थित र परिस्कृत गर्न महत्वपूर्ण बनेको विद्यालयका अर्का भाइस प्रिन्सिपल टीएन भण्डारीले बताउनुभयो । प्रशिक्षण शुक्रबार सुरु भएको शनिबार सम्पन्न भएको हो । एभरेष्ट स्कुलले अध्यापन विश्वस्तरीय बनाउन, रातो बंगला फाउण्डेसन, कारखाना, बेलायतको डिजी स्कुललगायतका आधा दर्जन बढी संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।