सामाजिक सद्भाव कायम राख्न मोरङ लेटाङका धार्मिक गुरुहरुको संयुक्त आग्रह

Logo
Nav Nepal सोमबार, साउन १८, २०८३

विराटनगर १७ साउन । मोरङ लेटाङका धार्मिक गुरुहरुद्धारा धर्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त आग्रह गरेका छन् ।

हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मो.अताउल्लाह, बौद्ध धर्मका लामा राजेन्द्र स्वाङ्वो, इसाई धर्मका पाष्टर आकाश थुलुङ, किराँत धर्मका गुरु धर्मराज लिम्वुले संयुक्त अपिल जारी गर्दै कप्तानगञ्ज घटनाबाट पाठ सिक्दै सबैले आ–आफ्नो ठाउँबाट शान्ति र सद्भावको पक्षमा उभिँदै अन्तरधार्मिक शान्ति संवादको माध्यमबाट दन्किरहेको ज्वाला निभाउनु पर्ने भन्दै धार्मिक गुरुहरुले घृणाले होइन भाइचारा र विवेकले मात्र समाजलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

सुनसरीको कप्तानगञ्जमा गत साउन १० गते राती दुई समुदाय विच भएको झडपमा परि २ जनाको ज्यान गएको र करिव दुई दर्जन व्यक्तिहरु घाईते भएको र त्यसपछि विभिन्न ठाउँमा भएको झडपका घटनापछि सामाजिक सद्भाव कायम गर्न लेटाङ नगरपालिका, अन्तर धार्मिक शान्ति सञ्जाल र सामुदायिक विकास मञ्चले आज लेटाङ नगरपालिका १ अन्तर धार्मिक शान्ति पार्कमा आयोजित कार्यक्रममा शान्ति, धार्मिक सहिष्णुता, बहुल जाति, भाषा र संस्कृतिको बलियो एकता भएको देश भनेर चिनिएको नेपालमा यस्ता किसिमका दृश्य, परिदृश्य र घटना घट्नु अत्यन्त दुःखद अवस्था भएको धर्मगुरुहरुले बताएका छन् ।

धर्मगुरुहरुले जारी गरेको संयुक्त अपिलमा भनिएको छ,‘ सुनसरी देवानगञ्ज घटनापछि सामाजिक एकता र धार्मिक सहिष्णुता कति नाजुक तर महत्वपूर्ण छ भन्ने कुराको पुनः स्मरण गराएको उल्लेख छ ।’ घटनाले चिराचिरा भएका विचार र भावनाहरूलाई अहिंसा र शान्तिको सन्देश फैलाउँदै सबै धर्म एक स्थानमा उभिनुपर्छ भनी साझा धारणा राख्ने अन्तर धार्मिक शान्ति अभियान पुनः एक पटक सशक्त र बुलन्द हुनुपर्ने हिन्दु धर्मगुरु राजेन्द्र ढकालले बताउनुभयो ।

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले सुनसरी र सिरहामा भएको धार्मिक द्वन्द्वको कारणले देशव्यापी रूपमा त्यो द्वन्द्वले प्रभाव बढ्दै गएपछि सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय भेला तथा शान्ति सद्भाव परिक्रमा कार्यक्रम गरिएको बताउनुभयो । लेटाङमा २०६५ सालदेखि धार्मिक सद्भाव, सामाजिक सद्भावको क्षेत्रमा काम हुँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हाम्रो नेपाली समाज मिलेर बसेको समाज, कुनै पनि खालको वितण्डा नमच्चियोस्, सद्भाव कायम होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।’

१० वर्षे सशस्त्र युद्ध पछि सामाजिक र धार्मिक र जातिगत कुराहरु केही समस्याहरु पैदा भएपछि लेटाङमा धार्मिक सद्भाव, सामाजिक सद्भावको क्षेत्रमा काम हुँदै आएको नगर प्रमुख लावतीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ १८ बर्षअघि धर्मगुरुहरुको मार्फतबाट दुनियाँलाई सन्देश दिनुपर्दछ भनेर हामीले सुरु गरेको अभियान निकै प्रभावकारी पनि रह्यो । अहिले पनि यसको औचित्य चाहिँ एकदम सार्थक भएर आएको छ ।’ शान्ति भनेको बन्दुकको नालबाट सम्भव नभएकाले शान्ति, सद्भाव आवस्यक भएको उहाँले बताउनुभयो ।

सर्वपक्षीय भेला तथा शान्ति सद्भाव परिक्रमा कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077