विराटनगर, २५ भदौ । दशैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ।
विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा हुने मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका करिब १०० वटा स्टल रहने संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिनुभयो।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, फर्निचर, कृषि उत्पादनलगायत वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ।
चाडपर्वको किनमेलका लागि सीमापारि जानुपर्ने बाध्यता कम गरी स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको ट्रेड फेयरका संयोजक श्यामलाल पौडेल -भवेष)ले बताउनुभयो।
मेलामा सांस्कृतिक कार्यक्रम, फुड कोर्ट, किड्स जोन तथा सेल्फी जोनलगायत आकर्षण रहनेछन्। मेला अवधिभर करिब एक लाख दर्शक आउने आयोजकको अपेक्षा छ।
संघले यसअघि २०६७ सालमा आयोजना गरेको ‘विराट महोत्सव’मा ७८ वटा स्टल राखिएको थियो भने करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए।—