विराटनगर / ओरेक नेपालले निसन्तानपन र प्रजनन अधिकारबारे विराटनगरमा अन्तरक्रिया गरेको छ ।
नेपालमा बढ्दो क्रममा रहेको निसन्तानपन र प्रजनन अधिकारका विषयमा आज सञ्चारकर्मीसँग ओरेकले अन्तरक्रिया गरेको हो ।
ओरेक नेपाल र सेन्टर फर रिप्रोडक्टिभ राइटसले आयोजना गरेको कार्यक्रममा ओरेक नेपालकी कार्यक्रम संयोजक सरस्वती दनुवारले निसन्तानपनको कारण सरोगेसी ( कोख भाडामा लिएर सन्तान जन्माउने ) बढ्दो रहेको बताइन् । तर राज्यले कानुन नबनाउँदा समस्या भएको उनको भनाई छ । निसन्तानपनको कारण महिला घरेलु हिंसा पनि हुने गरेको ओरेक नेपालकी अनुसन्धान संयोजक सुमित्रा पौडेलले बताइन् ।
निसन्तानपनको विषयमा राज्यले चासो राख्नु पर्ने भएपनि अहिलेसम्म कुनै अध्ययन नभएको उनले बताइन् । निसन्तानपनको समस्या एउटा लिङ्गमा मात्रै नहुने भएपनि महिलाले धेरै उत्पीडन सहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको २०१२ को प्रतिवेदनको अनुसार, विश्वमा करिब १०–१५ प्रतिशत विवाहित दम्पतीहरू सन्तानबिहीन रहेको देखिएको थियो । त्यसयता अध्ययन भएको छैन । निसन्तानपनको उपचारका लागि नेपालमा सरकारले पनि चासो दिनुपर्ने उनको भनाई छ । अहिले सरकारी अस्पतालले निसन्तानपनको उपचारको सुविधा छैन । सरकारी सेवा नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य रहेको उनले बताइन् ।
नेपालमा सन् २०१६ को डिसेम्बर १२ मा सर्वाेच्च अदालतले विवाहित नेपाली जोडीका लागि सरोगेसी सम्बन्धि वैधानिकता दिन सरकारका नाममा आदेश जारी गरेको थियो । राज्यले सरोगेसी सम्बन्धी कानुन नबनाउँदा कोख भाडामा दिनेहरू विभिन्न समस्यामा पर्ने गरेको अध्ययनका क्रममा देखिएको ओरेक नेपाल विराटनगरकी कार्यक्रम संयोजक दनुवारले जानकारी दिइन् ।