विराटनगर, ६ मंसिर ः पछिल्लो समय सहकारीमा देखिएको समस्या सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुँदाको परिणाम भएको सरोकारवालाहरुले आज यहाँ बताएका छन् ।
सम्वाद समूह कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको ‘सहकारी नीति संवाद‘ मा सहभागि सरोकारवालाहरुले ऐन कार्यान्वयनमा जोड दिएका छन् ।
प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिह हाङगामले रहकारीको रकम अपचन गर्नेका नजिकका नातेदारको सम्पत्ति छानवीन गरी असुल उपर गरी बचतकर्ताको रकम भुक्तानी गर्नुपर्ने सुझाव दिनु भयो ।
उहाँले सहकारीको दीगो व्यवस्थापन, रोजगारीकाका लागि आवश्यक सुझाव दिन सहभागीहरुलाई आग्रह गर्दै यसको मन्त्रालयमार्फत आवश्यक अनुगमन गर्ने बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पालिकाभित्र रकम अपचलन गर्ने तीन सहकारीका सञ्चालकहरुलाई कारवाही गरी जेल चलान गरेको जानकारी दिनु भयो ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले सहकारी ऐन अनुसार नचलेका सहकारीमा समस्या देखिएको बताउनुभयो ।
सुनसरीको धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले ऋण असुलीका लागि कानुनी व्यवस्था जटिल रहेको बताउनुभयो ।
झापाको विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकाको विज्ञता विनाका कर्मचारी, व्यवस्थापक हुँदा पनि सहकारीमा समस्या देखिएको बताउनुभयो ।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कानुनको अभाव फितलो अनुमगनका कारण सहकारीमा विकृति वृद्धि भएको धारणा राख्नु भयो ।
प्रदेश सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डा. डिल्ली पोखरेलले सहकारी ऐन पूर्ण कार्यान्वयन गरिए समस्या नहुने बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले सहकारीको समस्या समाधानका लागि आर्थिक अनुसन्धान व्युरो आवश्यक भएको उहाँले बताउनुभयो ।
अधिवक्ता रुक्मिणा दाहालले सहकारीको ऐन कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो ।
नीति संवाद कार्यक्रममा सहकारीका समस्या, चुनौति र समाधानका विषयमा सहकारी नीति संवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका प्रमुखहरु, स्थानीय तहका सहकारीका प्रमुखहरु, विभिन्न सहकारी संघ संस्थाका प्रमुख, प्रतिनिधिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । –––